एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात
काठमाडौँ- ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक ललितपुर मेयर्स-११ लाई १६ रनले पराजित गरेको हो ।
वर्षाका कारण प्रभावित खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन जोड्यो । सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले ३० रन तथा कविता जोशीले २५ रन बनाए ।
ललितपुर मेयर्स-११ का लागि आरती महतो र कृतिका मरासिनीले समान २-२ विकेट हात पारे ।
जवाफमा भने डिएल मेथडअनुसार ललितपुर मेयर्स-११ ले ११ ओभरमा ६२ रनको लक्ष्य पाएको थियो । तर उसले २ विकेटको क्षतिमा केवल ४५ रन जोड्न सक्यो ।
ललितपुर मेयर्स-११ का लागि पुजा महतोले १४ तथा सरस्वती जिएमले १२ रन जोडे । सुदूरपश्चिमका लागि जानकी थापा र रितु कनौजियाले १-१ विकेट हात पारे ।
अर्को खेलमा एपीएफले कोशी प्रदेशलाई २४ रनले पराजित गर्यो । वर्षाका कारण ५ ओभरमा सीमित भएको खेलमा ५७ रनको लक्ष्य पछ्याएको कोशीले २ विकेट गुमाउँदै केवल ३२ रन बनाउन सक्यो ।
कोशीका लागि कप्तान अप्सरी बेगमले २५ रन जोडिन् ।
त्यसअघि एपीएफले ३ विकेटको क्षतिमा ५६ रन जोडेको थियो । एपीएफका लागि इन्दु बर्माले १५ बलको सामना गर्दै ५ चौका र २ छक्काको मदतमा ३८ रन बनाइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया