क्रिकेट

विश्वकप क्रिकेट : पपुवा न्यूगिनीसँग वेस्ट इन्डिजको संघर्षपूर्ण जित

इकागज |
जेठ २१, २०८१ सोमबार ७:२१ बजे

काठमाडौँ- वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गएराति भएको खेलमा आयोजक वेस्ट इन्डिजले समूह चरणको आफ्नो पहिलो खेलमा पपुवा न्युगिनीलाई पाँच  विकेटले हराउँदै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । 

पपुवा न्यूगिनीले दिएको १३७ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । वेस्ट इन्डिजका लागि रोस्टन चेजले २७ बलमा ४ चौका र २ छक्कासहित ४२ रन बनाए ।


त्यस्तै ब्रान्डन किंगले २९ बलमा ७ चौका सहित ३४ रन जोडे । यसैगरी निकोलस पुरनले २७ तथा रोभमन पावेल र आन्द्रे रसेलले समान १५–१५ रन जोडे । पपुवा न्यूगिनीका लागि असद भालाले २ विकेट लिए भने अलेइ नाओ, चाड सोपर र जोन करीकोले समान १–१ विकेट लिए ।

त्यसअघि गयानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३६ रन बनाएको थियो । पपुवा न्यूगिनीका लागि सेसे बाउले सर्वाधिक ५० रनको योगदान दिए । उनले ४३ बलमा ६ चौका र १ छक्कासहित  ५० बनाएका हुन । किप्लिन डोरिगाले १८ बलमा २७ रन जोडे ।

असद भालाले २२ बलमा २१ रन बनाए । चार्ल्स अमिनीले १२ रन जोड्दा चाड सोपरले १० रन बनाए ।  वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र अलजारी जोसेफले समान २–२ विकेट लिए भने अकिल होसेन, रोमारियो शेफेर्ड र गुडकेश मोतिले समान १–१ विकेट लिए । विश्वकप क्रिकेटअन्तर्गत अहिले नामिबिया र ओमानवीच प्रतिस्पर्धा भइरहेको छ । 


Author

थप समाचार
x