क्रिकेट

संसद्‌ बैठकमा नेपाली क्रिकेट टीमको टिसर्ट लगाएर पुगे रास्वपाका सांसदहरू

इकागज |
जेठ २२, २०८१ मंगलबार १२:८ बजे

काठमाडौँ- सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आज प्रतिनिधिसभाको बैठकमा नेपाली क्रिकेट टीमको टिसर्ट लगाएर गएका छन् । आज बिहान ११ बजेदेखि सुरू भएको प्रतिनिधिसभा बैठकमा सहभागी हुँदा नेपाली क्रिकेट टीमको समर्थनमा टिसर्ट लगाएर गएका हुन् । 

आइसिसी टी–२० विश्वकप क्रिकेटमा आज नेपालले नेदरल्याण्ड्‌स‌सँग खेल्दैछ । आज राति ९:१५ बजेदेखि खेल सुरू हुनेछ ।


नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई)लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।

नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड्‌स‌ भने पाँचौँ पटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्याण्ड्‌स‌ दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्याण्ड्‌स‌ले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो ।


विश्वकपअन्तर्गत अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आज राति हुने उक्त खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ । त्यसो त नेदरल्याण्ड्‌स‌ पनि आफ्नो पहिलो खेलमा जित हासिल गर्दै आगामी यात्रालाई सहज बनाउने कोसिसमा रहनेछ । 

त्यसैगरी यस विश्वकप क्रिकेट प्रतियोगितामा सवैभन्दा कम उमेरमा कप्तानीको भूमिका निर्वाह गरेका २१ वर्षीय नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड्‌स‌विरुद्धको खेलमा उत्कृष्ट क्रिकेट खेलेर देश र नेपाली फ्यानलाई गर्व गर्न सक्ने वातावरण तय गर्ने विश्वास व्यक्त गरे ।
 
यसपटकको विश्वकपमा नेपालका अर्का खेलाडी गुलशन झा सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने खेलाडीको कीर्तिमानी बनाउने भएका छन् । उनी १८ वर्ष भएका छन् ।

र, यो पनि


Author

थप समाचार
x