क्रिकेट

टी-२० विश्वकप: नेदरल्याण्ड्समाथि दक्षिण अफ्रिकाको संघर्षपूर्ण जित

इकागज |
जेठ २७, २०८१ आइतबार ८:५८ बजे

काठमाडौँ - दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।

जारी टी-२० विश्वकप अन्तर्गत समूह डी को खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको हो । गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले दिएको केवल १०४ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।


दक्षिण अफ्रिकाको जितमा डेभिड मिलरले अविजित ५९ रन बनाएका थिए भने क्रिस्टन स्ट्ब्सले ३३ रन बनाएका थिए । नेदरल्याण्ड्सले यस खेलमा दक्षिण अफ्रिकालाई सुरुदेखि नै दबाबमा राखेको थियो । शून्यमै पहिलो विकेट गुमाएको दक्षिण अफ्रिकाले १२ रन बनाउँदा आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएको थियो । तर स्ट्ब्स र मिलरले सुझबुझपूर्ण ब्याटिङ गरेपछि जित दिलाएका थिए ।​

नेदरल्याण्ड्सका लागि भिभीयन किन्ग्मा र लोगन भान बीकले २-२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १०३ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि साइब्राण्ड एंगेलब्रेचले ४० रन बनाएका थिए भने लोगान भन बीकले २३ रन बनाएका थिए ।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर ओटनेइल बार्टमानले ४ विकेट लिए भने एनरीच नोकिया र मार्को जानसेनले २-२ विकेट लिएका थिए ।

यो जितपछि समूह डी मा दक्षिण अफ्रिकाको २ खेलमा दुवै जितसहित ४ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्ड्सको भने २ खेलमा २ अंक रहेको छ ।

अब अर्को खेल दक्षिण अफ्रिकाले जुन १० मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ भने नेदरल्याण्ड्सले जुन १३ मा बंगलादेशविरुद्ध नै खेल्ने छ ।


Author

थप समाचार
x