क्रिकेट

नेपालले भोलि दक्षिण अफ्रिकालाई पराजित गर्नैपर्ने

इकागज |
जेठ ३२, २०८१ शुक्रबार १७:६ बजे

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत नेपालले भोलि बिहान दक्षिण अफ्रिकाको सामना गर्दैछ ।

समूह 'डी' मा रहेका नेपाल र दक्षिण अफ्रिकाबीचको खेल वेस्ट इन्डिजमा नेपाली समयअनुसार बिहान ५:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


सुपर ८ को सम्भावना कायमै राख्न नेपालले भोलिको खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्नैपर्ने हुन्छ, किनभने नेपालले अघिल्ला दुई खेलमा केवल एक अंक हात पार्न सफल भएको छ ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध पराजय भोग्दा दोस्रो खेलमा श्रीलंकाविरुद्ध अंक बाँड्न बाध्य बन्यो ।

यता दक्षिण अफ्रिकाले भने लगातार तीन खेल जित्दै सुपर ८ को यात्रा सुनिश्चित गरिसकेको छ । बंगलादेश भने तीन खेलबाट चार अंक जोड्दै सुपर ८ का लागि बलियो दावेदारको रुपमा रहेको छ ।

त्यसैले नेपालले आफूलाई सुपर ८ को दौडमा कायम राख्न दक्षिण अफ्रिकालाई पराजित गर्नुपर्ने हुन्छ । दक्षिण अफ्रिकालाई पराजित गरेपछि नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई हराएमा अघिल्लो चरण पुग्न सक्छ ।


Author

थप समाचार
x