क्रिकेट

'टिम र देशका लागि ठूलो जित'

इकागज |
असार ९, २०८१ आइतबार ११:३० बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गतको सुपर ८ मा अस्ट्रेलियामाथि  सनसनीपूर्ण जित हात पारेपछि अफगानिस्तानका कप्तान राशिद खानले यो टिम र देशका लागि ठूलो जित भएको बताएका छन् ।

समूह '१' को खेलमा सन् २०२१ को विश्वकपको विजेता अस्ट्रेलियालाई २१ रनले पराजित गरेसँगै अफगानिस्तानले सेमिफाइनलको सम्भावना पनि बलियो बनाएको छ ।


'यो हाम्रो लागि एउटा टिम र राष्ट्रको रूपमा ठूलो जित हो । विश्वकपमा च्याम्पियनलाई हराउन पाउनु ठूलो अनुभूति हो । यस जितका लागि म टिमका सदस्यहरुसँग धेरै खुसी छु,' अफगानिस्तानका कप्तान राशिदले भने ।

उनका अनुसार अवस्थाअनुसार अफगानिस्तानको लक्ष्य १ सय ४० रन सम्म पुग्नु थियो । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले भने निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनाउन सक्यो ।

जवाफमा अस्ट्रेलियाले १९ ओभर २ बलमा सबै विकेट गुमाएर केवल १ सय २७ रनमात्र जोड्यो । अस्ट्रेलियालाई सस्तैमा समेट्न गुलबदिन नइबले सर्वाधिक ४ तथा नविन-उल-हकले ३ विकेट हात पारे ।

राशिदले टिममा धेरै अलराउन्डर भएका कारण फाइदा भएको बताए । उनले गुलबदिनलाई जहिले पनि बलिङ गराउँदा खुसी हुने गरेको प्रतिक्रिया दिए ।

यता गुलबदिनले पनि अफगानिस्तानले धेरै लामो समयदेखि यस्तो जितको खोजि गरहेको बताउँदै अस्ट्रेलियामाथिको जित आफू, देश र जनताका लागि ठूलो उपलब्धि भएको बताए ।


Author

थप समाचार
x