क्रिकेट

टी-२० विश्वकप : दक्षिण अफ्रिका सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो

इकागज |
असार १०, २०८१ सोमबार १०:४८ बजे

काठमाडौँ- दक्षिण अफ्रिका आईसीसी पुरुष टी-२० क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर ८ को समूह '२' अन्तर्गत आज बिहान भएको खेलमा सह-आयोजक वेस्ट इन्डिजलाई ३ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको हो ।


दक्षिण अफ्रिकाले भने ३ वटै खेल जितेर समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । यस समूहबाट २ खेल जित्दै इंग्ल्यान्ड यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको थियो ।

खराब मौसमका कारण प्रभावित आजको खेलमा डीएल मेथडअनुसार दक्षिण अफ्रिकाले १७ ओभरमा १ सय २३ रनको लक्ष्य पाएको थियो ।

उक्त लक्ष्य दक्षिण अफ्रिकाले १६ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

दक्षिण अफ्रिकाको जितमा मार्को जानसेनले २१ रन, ट्रिस्टन स्टब्सले २९ रन तथा हेनरिच क्लासेनले २२ रन बनाए ।

वेस्ट इन्डिजका लागि रोस्टन चेजले ३ तथा अल्जारी जोशेफ र आन्द्रे रसेलले २-२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३५ रन बनायो ।

वेस्ट इन्डिजका लागि रोस्टन चेजले ५२ रन तथा कायल मेयर्सले ३५ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि ताबरेज शम्सीले सर्वाधिक ३ विकेट हात पारे ।


Author

थप समाचार
x