क्रिकेट

महिला टी-२० विश्वकप आजदेखि, पुरुषले सरह पुरस्कार पाउने

इकागज |
असोज १७, २०८१ बिहीबार ९:३९ बजे

काठमाडौँ- आइसीसी महिला टी-२० विश्वकप आजदेखि शुरु हुँदैछ । यो विश्वकप अक्टोबर २० सम्म हुँदैछ भने यो प्रतियोगितामा १० देशले भाग लिँदैछन् ।

आयोजक बंगलादेश भएपनि यो विश्वकप युएईका शारजाहा र दुवई शहरमा हुँदैछ । बंगलादेशमा हालै भएको आन्दोलनका कारण आयोजक बंगलादेश नै रहने गरि प्रतियोगिता युएईमा हुन लागेको हो ।


विश्वकपको समुह 'ए'मा अस्ट्रेलिया, भारत, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् भने समुह 'बी'मा बंगलादेश, ईङल्याण्ड, स्कटल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् ।

आज पहिलो खेल बंगलादेश र स्कटल्याण्डबीच दिउँसो ३:४५ बजेदेखि खेल हुँदैछ भने आजै दोस्रो खेल पाकिस्तान र श्रीलंकाबीच राति ७:४५ बजेदेखि शुरु हुँदैछ ।

महिला विश्वकपमा अस्ट्रेलियाको दबदबा
नवौं महिला टी-२० विश्वकपसम्म आउँदा अस्ट्रेलियाले आफ्नो दबदबा बनाएको छ । अस्ट्रेलियाले यसअघि सम्पन्न ८ मध्ये ६ विश्वकपको उपाधि जितेको छ । त्यस्तै पछिल्ला तीन विश्वकप अस्ट्रेलियाले लगातार जितेको छ ।

अस्ट्रेलिया बाहेक ईङल्याण्डले सन्‌ २००९ को पहिलो विश्वकप जितेको थियो भने सन्‌ २०१६ को विश्वकप वेस्ट इन्डिजले जितेको थियो । 

महिला टी-२० विश्वकपमा पुरुष सरह पुरस्कार रकम
आइसीसीले महिला टी-२० विश्वकपका लागि पुरुष विश्वकप सरह नै पुरस्कार रकम दिने भएको छ ।

आजदेखि शुरु हुने यस महिला टी-२० विश्वकपमा आइसीसीले कुल ७९ लाख ५८ हजार ८० डलर पुरस्कार रकममा खर्च हुने बताएको छ । हालै भएको पुरुष टी-२० विश्वकपमा पनि सोही बराबर रकम पुरस्कारमा खर्च गरिएको थियो ।

आइसीसीले यस विश्वकपमा विजेता टिमलाई २३ लाख ४० हजार डलर दिने बताएको छ भने उपविजेता देशले ११ लाख ७० हजार डलर पाउने छन् । त्यस्तै सेमिफाइनलमा पुग्ने देशले ६ लाख ७५ हजार र समुह चरणमा खेल जित्ने देशले ३१ हजार १५४ डलर पाउने आइसीसीले जनाएको छ ।

त्यस्तै समुह चरणबाट बाहिरिने हरेक देशले एक लाख १२ हजार ५०० डलर पाउने आइसीसीले जन्माएको छ । १० देश सहभागी विश्वकपमा पाँचौं स्थानदेखि आठौँ स्थानसम्म रहने देशले २ लाख ७० हजार डलर प्राप्त गर्ने छन् भने नवौं र दशौँ स्थानमा रहने देशले एक लाख ३५ हजार डलर पाउने भएका छन् ।


Author

थप समाचार
x