क्रिकेट

राष्ट्रिय पुरुष क्रिकेटका लागि अर्जुनको कप्तानीमा गण्डकीको टोली घोषणा

इकागज |
कात्तिक ७, २०८१ बुधबार ६:३८ बजे

सांकेतिक तस्विर

कास्की- नेपाल क्रिकेट सङ्घको आयोजनामा कोशी प्रदेशको विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घले गण्डकीका स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा मङ्गलबार १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । कुमाल अण्डर १९ राष्ट्रिय टोलीका सदस्यसमेत छन् ।


वाई वाई अण्डर १९ राष्ट्रिय क्रिकेट यही कात्तिक १० गतेदेखि सुरु हुँदैछ । प्रादेशिक टोलीको छनोटका लागि सङ्घले गत असोज ७ गते देखि १३ गतेसम्म पोखरा क्रिकेट रङ्गशालामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरेको थियो ।

 तर सो प्रतियोगिता प्रतिकूल मौसमका कारण पूरा सञ्चालन हुन सकेको थिएन । प्रतियोगितामा सहभागी खेलाडीहरुको प्रदर्शन र सहभागी प्रशिक्षकहरुको रायका आधारमा पहिलो चरणमा ३७ खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

असोज अन्तिम साता सञ्चालन भएको बन्द प्रशिक्षणपछि अन्तिम टोलीका खेलाडी चयन गरिएको हो । टोलीमा करन पगेनी, सोहेल कुँवर, बंश क्षेत्री, सुदीप अर्याल, नरेश शाह, अश्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द रहेका छन् ।

वैकिल्पक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार छन् । टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापकमा अविशेषक ढकाल रहेका छन् ।

गण्डकीको टोली सन्तुलित रहेकाले उपाधिको दावेदार रहेको अध्यक्ष सिग्देलले बताए । उनले भने,’गण्डकीको टिममा नयाँ र अनुभवी दुवै खेलाडी छन् । टोली सन्तुलित छ । उपाधिको आस गरेका छौँ ।‘

गण्डकीले प्रतियोगिताको आफ्नो पहिलो खेल कात्तिक ११ गते मधेस प्रदेशसँग खेल्नेछ । -रासस

 


Author

थप समाचार
x