क्रिकेट

एनपिएल क्रिकेट : लुम्बिनीमा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त

इकागज |
कात्तिक २६, २०८१ सोमबार २२:१७ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको सहभागी टोलीमध्ये लुम्बिनी लायन्सले महानायक राजेश हमाललाई आफनो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । 

आगामी मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको लागि लुम्बिनी लायन्सले चलचित्र क्षेत्रका महानायक हमाललाई ब्रान्ड एम्बास्डर घोषणा गरेको हो । लुम्बिनी लाइन्सद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र महानायक  हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता एक वर्षको लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष जीसीले जानकारी दिए । 


सम्झौतासँगै हमालले एम्बास्डर को जिम्मेवारीलाई टिमसँग भावनात्मकरूपमा जोडिएको बताउँदै नेपालले क्रिकेट खेल्न थालेपछि आफू पनि क्रिकेट खेलमा आकर्षित भएको बताए । लुम्बिनीका मार्की खेलाडी रोहितकुमार पौडेलले राजेश हमाल लुम्बिनीको ब्रान्ड एम्बास्डर हुनुभएसँगै टिमलाई नै प्रेरणा मिल्ने बताए । 

लुम्बिनी लायन्स टिम रोहितकुमार पौडेल, अभिषेश गौतम, सन्दीप जोरा, आसुतोष घिरैया, सूर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अर्जुन साउद, विकास आग्री, टम मुर्स, बेन कटिङ र उन्मुक्त चन्द रहेका छन् । 

काठमाडौँमै आयोजना हुने उक्त एनपीएलमा लुम्बिनी लायन्ससँगै काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स सहभागी छन् ।
 


Author

थप समाचार
x