क्रिकेट

एनपीएलको प्रसारण स्टारस्पोर्ट्समा किन हुनु हुदैन ?

इकागज |
कात्तिक २९, २०८१ बिहीबार १९:५६ बजे

नेपाल प्रिमियर लिग (एनपीएल) को प्रशारण भारतीय टिभी नेटवर्क स्टार स्पोर्ट्समा गर्ने चर्चा चलिरहेको छ ।

मङ्सिर १५ गतेदेखि टियु मैदानमा शुरु हुने एनपीएलको पहिलो संस्करणप्रति नेपाली क्रिकेट प्रेमीको उत्साह देखिएको छ । साथै एनपीएलमा सहभागी हुने विदेशी खेलाडीको सूचीले पनि फ्यानहरुमा थप उत्साह थापिरहेको छ । यसैबीच एनपीएलको प्रशारण स्टार स्पोर्ट्सबाट हुने समाचारले त्यो उत्साहलाई थप बढाएको अवस्था पनि छ । तर नेपाल क्रिकेट संघ (क्यान) ले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रशारण गर्दैमा मात्र यसको अन्तर्राष्टियकरण हुने हो त ? 


सबैभन्दा पहिला अहिले एनपीएलका खेलहरु स्टार स्पोर्ट्सबाट क्यानले ठुलो रकम तिरेर गर्न खोजिएको भनिएको छ । एनपीएल ब्राण्डलाई अन्तर्राष्ट्रियकरण गर्न र विश्व क्रिकेटलाई नेपालको लिग देखाउन यसो गर्न लागिएको क्यानको दलिल छ ।

सामान्यतया क्रिकेटको खेल प्रसारणको लागि टिभी च्यानलहरुले ठुलो रकम तिर्ने गर्दछन् र च्यानल वा एजेन्सीले विज्ञापन उठाएर राम्रो नाफा पनि गर्दछन । तर क्यान भने उल्टो बाटोमा गएको जस्तो देखिएको छ । एनपीएलका खेल स्टार स्पोर्ट्समा करोडौं तिरेर प्रशारण गर्दा त्यसले नेपाली टेलिभिजन र स्थानीय विज्ञापन एजेन्सी तथा स्थानीय विज्ञापनदाताको उपेक्षा गरेको देखिएको छ । स्टारस्पोर्ट्सले एनपीएल प्रशारण गर्ने भएमा स्थानीय विज्ञापनदाताले विज्ञापन गर्न सक्ने अवस्था नै नहुने एक विज्ञापन एजेन्सीका संचालक बताउछन् । स्टार स्पोर्ट्समा विज्ञापनदर महँगो हुने र उसले प्रसारणबापत पैसा पाउने हुनाले विज्ञापनप्रति कुनै चासो नै नलिने दाबि नेपाली विज्ञापन एजेन्सीहरुको दाबि रहेको छ ।

एनपीएल हुने खबरले नेपालमा क्रिकेटको क्रेजलाई क्यास गर्न विज्ञापन क्षेत्र पनि उत्साहित भइरहेको अवस्थामा क्यानले स्टारस्पोर्ट्सको विषय ल्याएर सबैलाई निरुत्साहित गरेको विज्ञापन क्षेत्रको बुझाइ छ । नेपाली क्रिकेटलाई अहिलेसम्म सहयोग र समर्थन गरिरहेको नेपाली विज्ञापन क्षेत्रका लागि एनपीएलमा अवसर गुमेमा दुर्भाग्य हुने बताउछन् ।

तर अहिलेसम्म क्यानले स्टार स्पोर्ट्ससँग हुनसक्ने डिल बारे स्पष्ट भने पारेको छैन ।

नेपालमै प्राय अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेलहरुको  खासगरि, हिमालयन र कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको र गुणस्तरमा पनि पछिल्लो समय व्यापक सुधार गरेको अवस्थामा विदेशी च्यानलमा किन जान लागियो भन्ने प्रश्न व्यवसायीहरुले उठाएका छन् ।

अर्कोतर्फ स्टार स्पोर्ट्सलाई क्यानले करोडौं दिएर प्रसारण गराउने सन्दर्भ कानुनी रुपमा पनि नमिल्ने देखिन्छ । नेपालको खरिद नियमावली अनुसार १० लाख भन्दा बढी रकम खर्च गर्दा ग्लोबल टेन्डर गर्नुपर्ने व्यवस्था क्यानलाई पनि लागु हुने हुनाले यो नमिल्ने देखिएको हो । तर यस सन्दर्भमा क्यानले एनपीएलको कमर्सियल राइट्स ब्रान्ड लजिक प्रालिलाई बेचेको हुनाले स्टार स्पोर्ट्ससँग कसरी क्यानले सम्झौता गर्छ यो हेर्न बाँकी नै छ । ब्रान्ड लजिकले ५ करोड ९२ लाखमा एनपीएलको कमर्सीयल राइट्स खरिद गरेको छ ।

त्यसैगरी नेपालमा हाल क्लीन फिड लागु रहेकाले स्टार स्पोर्ट्सले यस प्रशारणमा आफ्नो विज्ञापन समेत बजाउन पाउदैन ।

अहिलेसम्म एनपीएलको तयारी, फ्रेन्चाईजीको छनौट र खेलाडी अक्सन हुदै हाल विदेशी खेलाडी भित्रिदै गर्दा एनपीएल विवादरहित बनेको छ तर स्टार स्पोर्ट्समा ठुलो रकम तिरेर प्रसारण गर्न खोजेको विषय विवादित हुने देखिएको छ  । यस्तो सम्झौता भएमा क्यान र यसका पदाधिकारीलाई कानुनी झमेलामा समेत पार्ने देखिन्छ ।

एकातिर प्रसारण गर्ने नेपाली च्यानल हुदा हुदै विदेशी ताक्नुले ठुलो रकम विदेशिने मात्र होइन नेपाली च्यानल र दक्षतालाई क्यानले उपेक्षा गरेको अर्थ लाग्ने विज्ञापन क्षेत्रका विज्ञको धारणा रहेको छ । तसर्थ क्यानले रकम तिरेर स्टार स्पोर्ट्समा जानु भन्दा स्थानीय च्यानल र स्थानीय विज्ञापनदाताको सहयोग लिएर गुणस्तरीय प्रसारण गर्नेतर्फ ध्यानकेन्द्रित गर्नु नै नेपाली क्रिकेटको दिर्घकालिन हितमा हुने देखिन्छ । 


Author

थप समाचार
x