क्रिकेट

एनपिएल: काठमाडौँ गुर्खाज र विराटनगर किंग्स विजयी

इकागज |
मंसिर १९, २०८१ बुधबार १६:५६ बजे

काठमाडौँ  -  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार भएको खेलमा काठमाडौँ गुर्खाज र विराटनगर किंग्स विजयी भएका छन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौँले कर्णाली याक्स र विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई पराजित गरेको हो ।


एनपिएलको चौथो दिनको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्यो । १ सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य काठमाडौंले १९ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रनको योगफल बनाएको थियो । कर्णालीका लागि ओपनर धवनले नट आउट रहँदै सर्वाधिक ७२ रन जोडेका थिए ।

त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई दुई विकेटले पराजित गर्यो । लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९ दशमलव ५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन जोडे । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गरेको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाएका थिए । प्रतियोगिता अन्तर्गत बिहीबार हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स तथा काठमाडौं गुर्खाज र सुदुरपश्चिम रोयल्सबीच हुने क्यानले जनाएको छ । 


Author

थप समाचार
x