क्रिकेट

अर्जुन ट्रफीः बैतडीसँग काठमाडौँ  पराजित

इकागज |
माघ २४, २०८१ बिहीबार १५:१७ बजे

फाप्ला - धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा दशरथचन्द एकेडेमी बैतडीले सान्त्वना जित निकालेको छ । सान्त्वना जित निकाल्ने क्रममा बैतडीले क्रिकेट एक्लेन्स सेन्टर काठमाडौँलाई १६ रनले हरायो ।

जितका लागि पाएको १६१ रनको लक्ष्य पछ्याएको काठमाडौँ १९ दशमलव ४ ओभरमा एक सय ४४ रनमा अलआउट भयो । जसमा राज शाहले अविजित ३७, दिपेन्द्र रावतले ३२, सुभ कङ्साकारले २६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । बलिङतर्फ बैतडीका सलाउद्दिन खानले ५, दिवान पुनले ३ विकेट लिए ।


यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनायो । यस टोलीका दिवान पुनले ४३, वसन्त खत्रीले ३२, अमरसिंह रौटेलाले २९ रनको योगदान गरे । काठमाडौँका सूर्य तामाङ र दिपेन्द्र रावतले २/२ विकेट लिए ।

बैतडीका दिवान पुन प्लेयर अफ द म्याच चुनिए । उनले नगद १० हजारसहित ट्रफी पाए । यसअघि खेलेका दुवै खेल हारेको बैतडीले पहिलो जित दर्ता गरेको छ । बैतडी अङ्क तालिकाको तेस्रो स्थानमा छ । तीन खेलबाटै एक खेल मात्रै जितेको काठमाडौँ पुछारमा छ ।

नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

धनगढी र सुदूरपश्चिम प्रदेशमा क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित ट्रफी पाउनेछन् ।

गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । 
 


Author

थप समाचार
x