आहा रारा पोखरा गोल्डकपः शनिबार फाइनल खेल हुँदै
![](https://ekagajcdn.prixacdn.net/media/albums/rara-gold-cup_1_CO3287M7ZV.jpg)
कास्की – राजधानी बाहिरको पुरानो र प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा आहा १ रारा पोखरा गोल्डकप मानिन्छ । विसं २०५८ मा पहिलोपटक क्याराभान गोल्डकपबाट सुरु भएको प्रतियोगिता अहिले २४औँ संस्करणसम्म आइपुगेको छ ।
सुरुआतदेखि हालसम्म आउँदा थुप्रै प्रतिकूलतामा पनि प्रतियोगिता कुनै वर्षमा रोकिएन । सबै खालका अप्ठ्याराहरूसँग जुध्दै आएकाले आहा रारा गोल्डकप फुटबल प्रेमीहरूका माझ लोकप्रिय छ ।
यस वर्षको २४औँ संस्करणको फाइनलमा विभागीय नेपाल पुलिस क्लब र विदेशी टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी शनिबार भिड्दैछन् । पोखरा रङ्गशालाको १६ हजार दर्शक अटाउने खेलाडी रङ्गशालामा उत्रिँदा दुवै टोली खेल जितेर इतिहास बनाउने उद्देश्यमा छन् ।
आहा राराको सर्वाधिक सफल टोली हो पुलिस क्लब । पुलिसले क्याराभान गोल्डकपदेखि हालसम्म छ पटक उपाधि चुमेको छ । पुलिस सातौँपटक च्याम्पियन बनेर इतिहास रच्ने दाउमा हुनेछ । पुलिसले विसं २०५८ मा क्याराभान गोल्डकप जितेको थियो । त्यसपछि विसं २०५९, २०६४, २०६५, २०६६ र विसं २०७४ मा आहा राराको उपाधि उचाल्यो ।
पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स पनि पहिलो सहभागितामा उपाधि जितेर घर फर्कन चाहन्छ । आफ्ना दुई खेल फराकिलो अन्तरले जितेकाले टोली फाइनलका लागि उत्साहित छ ।
नेपालमा पहिलोपटक फुटबल खेल्न आएको उज्वेकिस्तानी टोली शारीरिक र टेक्निकल दुवै हिसाबले उत्कृष्ट छ । यसअघिका दुई खेलमा उज्वेकिस्तानी टोलीले कुनै गोल नखाइकन सात गोल गरेको छ । पाहुना टोलीलाई रोक्नुपर्ने चुनौती पुलिससामु छ । पुलिसको टिमले समेत यसपटक अहिलेसम्म गोल खाएको छैन ।
फाइनलका लागि दुवै टोली एकअर्काप्रति सचेत छन् । दुवैले एकअर्काको खेललाई सम्मानसमेत गरेका छन् । फाइनल खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनल खेल रोचक हुने बताए । उत्कृष्ट फुटबल खेलेर फाइनल खेल रोमाञ्चक हुने उनीहरूको भनाइ छ । दुवैको दाबी उपाधि चुम्ने छ ।
नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि खेलाडीहरू मानसिक रूपमा तयार रहेको बताएका छन् । उनले टोली उपाधि जितेर इतिहास बनाउने बताउँछन् । “पुलिस टिम ऐतिहासिक छ, भोलि हामीले अर्को इतिहास कोर्न बाँकी छ । उपाधि जित्छौँ भन्नेमा मानसिक रूपमा तयार छौँ”, प्रशिक्षक घिमिरेले भने ।
विपक्षी टोलीको खेल्ने शैली र शारीरिक प्रर्दशन समेत राम्रो रहेको भन्दै प्रशिक्षक घिमिरेले जारी प्रतियोगितामा तीनवटा खेल जितेकाले खेलाडी उत्साहित रहेका बताए ।
पाहुना टोली ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले उपाधि जित्ने गरी खेल्ने बताएका छन् । फाइनल खेलमा दुवैको उत्तिकै सम्भावना रहने भन्दै उनले पुलिसको ‘टिम स्पिरिट’ र ‘फाष्ट गेम’ प्रशंसायोग्य रहेको उल्लेख गरे । उनले भने, “फाइनल खेलमा दुवै टिमको ५०–५० सम्भावना हुन्छ । हामी जित्नका लागि मैदानमा उत्रिने छौँ, उपाधि जितेर फर्कन चाहन्छौँ ।”
पुलिसका कप्तान राम वाजीले टोलीमा धेरै युवा खेलाडी रहेको र उपाधि जित्नका लागि सतप्रतिशत मेहनत गर्ने उल्लेख गरे । “पुलिस टिममा अहिले धेरै नयाँ भाइहरु रहेका छन् । पहिलाजस्तो स्टार खेलाडी छैनन् । तर हामीले मैदानमा सकेको दिनेछौँ”, उनले भने ।
प्रतियोगितामा पुलिसले प्रि–क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० ले पराजित गरेको थियो । क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोलअन्तरले हराउँदै फाइनलमा स्थान बनायो ।
पाहुना टोली ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० र सेमिफाइनलमा नेपालको थ्रीस्टार क्लबलाई ४–० को फराकिलो अन्तरले हराएको थियो ।
सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेताले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार नगद सगै ट्रफी पुरस्कार पाउने छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया