क्रिकेट

दोस्रो टेस्ट : चौथो दिन

कोहली पनि आउट, भारतको दोस्रो पाली धरापमा !

इकागज |
साउन ३१, २०७८ आइतबार १८:९ बजे

काठमाडौँ - कप्तान विराट कोहली पनि आउट भएपछि इंग्ल्यान्डविरुद्ध भारतको दोस्रो पाली धरापमा परेको छ । लर्ड्समा आइतबार भारतले दोस्रो पाली सुरु गरेको थियो । तर लञ्च अगाडि नै पाहुना टोलीले शीर्ष वरियताका तीन जना ब्याट्सम्यान सस्तैमा गुमाएको छ ।

पहिलो पालीमा शतक बनाएका केएल राहुल ५ रनमा आउट हुँदा रोहित शर्मा २१ रन बनाएर पेभेलिएन फर्किए । इंग्लिस पीचमा दुवै अनुभवी ब्याट्सम्यानलाई मार्क वुडले आउट गरेका हुन् । 


दुवै ओपनर गुमाएपछि दबाब महसुस गरेर आक्रामक खेलेका कप्तान विराट कोहली पनि २० रनमा आउट भएपछि भारतको दोस्रो पाली धरापमा परेको हो । ४ चौका हानेका कोहलीलाई साम कुरानले विकेटकिपर जोश बटलरको हातबाट क्याचआउट गराएका हुन् । 

चौथो दिनको खेलमा लन्च सेसनसम्म भारतले ३ विकेट गुमाएर ५६ रन बनाएको छ । पहिलो पालीमा २७ रनले पछि परेको भारतले दोस्रो पालीमा २९ रनको अग्रता मात्रै लिएको छ । अब पाली उकास्ने जिम्मा उपकप्तान आजिन्क्या रहाने, चेतेश्वर पुजारा र रिषभ पन्तको काँधमा छ । अलराउन्डर रवीन्द्र जडेजा पनि फर्ममा रहेकाले भारतीय टिम दोस्रो टेस्ट जोगाउने झिनो आशामा छ । 

पहिलो पालीमा भारतले ३६४ रन बनाउँदा इंग्ल्यान्डले ३९१ रन बनाएको थियो । वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो । 


Author

थप समाचार
x