क्रिकेट

ईपीएल

प्रतियोगिताबाट बाहिरिएपछि विराटनगरको जित

इकागज |
असोज १७, २०७८ आइतबार १४:२९ बजे

काठमाडौँ- विराटनगर वारियर्सले एभेरेष्ट प्रिमियर लिग (ईपीएल)मा पहिलो जित हासिल गरेको छ । लगातार चार खेल हारेको विराटनगरले आइतबार काठमाडौँ किंग्सलाई सात रनले पराजित गर्‍यो । प्रतियोगिताबाट बाहिरिसकेको विटनगरसँग हारेपछि प्ले–अफ पुग्ने काठमाडौँको लक्ष्यमा धक्का लागेको छ । तीन खेल खेलेको काठमाडौँका लागि यो दोस्रो हार हो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान वर्षाका कारण ओसिलो भएपछि खेल आठ–आठ ओभरमा घटाइएको थियो । टस हारेपछि ब्याटिङ गरेको विराटनगरले पाँच विकेट गुमाएर १०४ रन बनायो । तर सन्दिप लामिछानेको कप्तानीमा रहेको काठमाडौँले ८ ओभरमा तीन विकेटको क्षतिमा ९७ ररन मात्रै बनाउन सक्यो । 


काठमाडौँका लागि ओपनरद्वय रहामानुल्लाह गुर्बाज र राजु रिजालले क्रमशः २८ रन र २४ रन बनाएका थिए । १५ बल सामना गर्दा एक छक्का र तीन चौका प्रहार गरेका रहामानुल्लाह प्रतिस जीसीको बलमा आउट भए । राजु भने अविजित रहे ।  

पराजित काठमाडौँका लागि सुवास खकुरेलले १० बलमा २६ रन जोडे । उनी पनि नट–आउट नै रहे । आशान प्रियाराजन शून्यमा बाहिरिदा रायन बर्लले १५ रनको यागदान गरे । 

विराटनगरका लागि रायन पठानले दुई विकेट लिए भने प्रतिसको नाममा एक विकेट रह्यो । 

पहिले ब्याटिङ गरेका अनिल साहले अविजित ४५ रन बनाए । १६ बल सामना गर्दा अनिलले पाँच छक्का र दुई चौका प्रहार गरे । त्यसैगरी, रायन पठानले ११ बलमा ३० रन जोडेका थिए । उनले तीन छक्का र दुई चौका प्रहार गरे । विजयी टिमका लागि कप्तान करण केसीले १५ रनको योगदान गरे ।   
बलिङतर्फ काठमाडौँका सन्दिप, रायन र गुल्शन झाको नाममा समान एक–एक विकेट रह्यो । 

पराजित काठमाडौँ पाँचौँ स्थानमा छ । उसको खातामा दुई अंक छ । छ टिम सम्मिलित ईपीएलको पुच्छारमा छ । शीर्षस्थानमा भने चितवन टाइगर्स छ । उसको तीन खेलबाट ६ अंक छ ।  दोस्रो स्थानमा पोखरा राइनोज र तेस्रो स्थानमा भैरहवा ग्लाडियटर्स छन् । पोखराले चार खेलबाट पाँच अंक बटुलेको छ भने एक खेल कम खेलेको भैरहवाको खातामा चार अंक छ । 
 


Author

थप समाचार
x