क्रिकेट

ईपीएलमा चितवन टाइगर्स अपराजित

इकागज |
असोज १७, २०७८ आइतबार १८:२६ बजे

काठमाडौँ- एभेरेष्ट प्रिमियर लिग (ईपीएल)मा चितवन टाइगर्सले अपराजित यात्रालाई आइतबार पनि कायम राखेको छ । चौथो जित निकाल्ने क्रममा चितवनले ललितपुर प्याट्रियोट्सलाई पाँच विकेटले पराजित गर्‍यो । जितसँगै चार खेलबाट आठ अंक बनाएको चितवन शीर्ष दुईमा रहने पक्का भएको छ । चार खेल नै खेलेको पोखरा राइनोजको पाँच अंक छ । 

हाल पहिलो र दोस्रो स्थानमा रहेका चितवन र पोखराले राउन्ड रोबिनमा एक–एक खेल खेल्न बाँकी छ । चितवनले सोमबार भैरहवा गडियटर्सको सामना गर्दैछ भने पोखराले सोही दिन काठमाडौँ किंग्स इलेभेनको चुनौती सामना गर्नेछ । 


कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा ललितपुरले टस जित्दै पहिलो ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा ललितपुरले नौ विकेट गुमाएर १०८ को योगफल तयार पार्‍यो । जवाफ ब्याटिङमा उत्रेको चितवनले १७.२ ओभरमा पाँच विकेटको क्षतिमा ११२ रन बनायो । 

ललितपुरलाई सस्तैमा समेट्न कमल ऐरीले ११ रन खर्चेर तीन विकेट हात पारे । उनले ललितपुरका कप्तान कुशल भुर्तेल (१), सन्दिप जोरा (४) र योगेन्द्र सिहं कार्की (०)को विकेट लिए । पजित टिम ललितपुरका लागि जयकिशन कोल्सावालाले ४२ रन बनाए । त्यसैगरी ओपनर सान्दुम विराकोड्डीले १४ रन जोडे भने सूर्य तामाङले नट–आउट ११ रन बनाए । बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुएनन् । 

चितवनका लागि करिम जनत र सागर ढकालले दुई–दुई विकेट लिए भने शहाब आलमले एक विकेट हात पारे । चितवनलाई जित दिलाउन ओपनर मोहम्मद शाहजादले ३५ रनको योगदान गरे । त्यसैगरी, भीम शार्कीले २७ रन बनाए भने भिरनदिप सिंह र दिलिप नाथले क्रमशः २७ र १३ रन जोडे । 

बलिङतर्फ ललितपुरका आज्मतुल्लाह ओमारजाई र रिजन ढकालले दुई–दुई विकेट लिए भने योगेन्द्रसिंहको नाममा एक विकेट रह्यो । तेस्रो हारसँगै ललितपुर चौथो स्थानमा खुम्चिएको छ । उसको खातामा पाँच खेलबाट तीन अंक छ । पाँचौँ स्थानको काठमाडौँ किंग्सको तीन खेलबाट दुई अंक छ । 


Author

थप समाचार
x