पोखरा अन्ततः ईपीएलको फाइनलमा
काठमाडौँ- पोखरा राइनोज अन्ततः एभेरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनल प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग पराजित भएको पोखराले बिहीबार भएको दोस्रो क्वालिफायरमा जित हासिल गर्यो । पोखराले भैरहवा ग्लाडियटर्सलाई सात विकेटले पराजित गर्यो ।
चौथो संस्करणको ईपीएलको उपाधि भिडन्तमा शनिबार चितवन र पोखरा आमनेसाने हुनेछन् । दुवै टिम पहिलो पटक ईपीएलको फाइनलमा पुगेका हुन् । जारी ईपीएलमा यी दुई टिम तेस्रो पटक भिड्न लागेका हुन् । क्वालिफायरबाहेक लिग चरणको खेलमा पनि पोखरालाई चितवनले पराजित गरेको थियो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको भैरहवा ग्लाडियटर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११९ रन बनाएको थियो । पोखराले १८.२ ओभरमा तीन विकेटको क्षतिमा १२३ रन जोड्यो ।
भैरहवाका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ३२ रन बनाए । अविजित रहेका हरदले ३३ बल सामना गर्दा एक छक्का र दुई चौका प्रहार गरे । शरदपछि धेरै स्कोर गर्ने खेलाडी आरिफ शेख रहे । उनले २४ बलमा २७ रन जोडे ।
त्यसअघि भैरहवालाई रोहित पौडेल र प्रदीप ऐरीले सामान्य सुरुवात दिलाएका थिए । रोहितले १८ रन बनाए भने प्रदीप ११ रनमा समेटिए । बाँकी ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।
पोखराका लागि सहान अराचिगे र किशोर महतोले समान दुई–दुई विकेट हात पारे । त्यसैगरी, नन्दन यादव र असेला गुणरत्नेले एक–एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रेको पोखराका लागि सहान अराचिगेले अर्धशतक प्रहार गरे । ४४ बल सामना गर्दा उनले अविजित ५३ रन बनाए । अन्तिम दुई बलमा दुई चौका प्रहार गरेको सहानको नाममा कुल सात चौका रहे ।
विजयी टिमका लागि विपिन रावलले ४० रन जोडे । उनी पनि नटआउट रहे । बलिङतर्फ भैरहवाका लागि भुवन कार्कीले दुई विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया