क्रिकेट

गर या मरको अवस्थामा बंगलादेश र वेस्ट इन्डिज

इकागज |
कात्तिक १२, २०७८ शुक्रबार १२:४८ बजे

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी टी-ट्‍वान्टी विश्वकपमा बंगलादेशको प्रदर्शन चित्तबुझ्दो छैन । सुपर १२ को खेलहरू हुँदै गर्दा समूह २ मा रहेको बंगलादेश जित विहिन छ । बंगलादेशी टिमले पछिल्ला दुवै खेल हारेको छ । 

श्रीलंका र इंग्ल्यान्डसँग पराजित बंगलादेशले शुक्रबार डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजको सामना गर्दैछ । शारजाह क्रिकेट मैदान, शारजाहमा हुने खेल बंगलादेशका लागि नकआउट खेल जस्तै हो । किनभने हारले बंगलादेश क्वार्टरफाइनल पुग्‍ने सम्भावना लगभग सकिनेछ ।


संयोग कस्तो भने, बंगलादेशको विपक्षी वेस्ट इन्डिजले पनि सुपर १२ मा अंकको खाता खोल्न सकेको छैन । बंगलादेश र वेस्ट इन्डिज क्रमशः पाचौँ र छैटो स्थानमा छन् । यसकारण अबका तीन खेलमा जित हासिल गर्दै नकआउट चरणमा पुग्‍ने लक्ष्यमा छ, वेस्ट इन्डिज । बंगलादेशको योजना पनि यही हो । 

बंगलादेशले आफ्नो पछिल्लो खेलमा टी-ट्‍वान्टी वरीयताको शीर्षस्थानमा रहेको इंग्ल्यान्डको सामना गरेको थियो । त्यो खेलमा बंगलादेशले कुनै पनि पक्षमा बलियो चुनौती पेश गर्न सकेन । जम्मा १२४ रनको योगफल तयार पारेको बंगलादेशले इंग्ल्यान्डका ब्याटरलाई रोकन सकेन । इंग्लिस टिमले आठ विकेट र ३५ बल बाँकी छँदा नै खेल जित्यो । 

वेस्ट इन्डिजविरुद्ध मैदान उत्रदा अनिवार्य जितको लक्ष्य राख्‍ने बंगलादेशको भरोसा मोहम्मद नाइममाथि हुनेछ । लिटोन दासको लय कमजोर रहेकाले जारी विश्वकपमा दुई अर्धशतक प्रहार गरिसकेका नाइमले बंगलादेशको इनिङ धान्‍ने अपेक्षा गरिएको छ । तेस्रो नम्बरका शकिब अल हसनले पनि खासै राम्रो गरिरहेका छैनन् । यसकारण नाइममाथि दबाब थप बढेको छ । 

यसैबीच बंगलादेशका लागि अर्को अप्रिय खबर पनि छ, नुरुल हसनको फिटनेस । विकेटकिपर तथा ब्याटर रहेका हसनले वेस्ट इन्डिजको खेल गुमाउने सम्भावना छ । 
बंगलादेशको ब्याटिङको आलोचना हुँदै गर्दा वेस्ट इन्डिजले सम्मानजनक रन बटुल्न सकेको छैन । यसकारण, वेस्ट इन्डिजका कप्तान केइरन पोलार्डले भनिसकेका छन्, वेस्ट इन्डिजको ब्याटिङ विभागले एक भएर खेल्नुपर्ने आवश्यकता छ ।


Author

थप समाचार
x