क्रिकेट

आइसीसी टी- ट्वान्टी  विश्वकप क्रिकेट

इग्‍ल्‍यान्ड‍काे लगातार तेस्रो जित, अष्ट्रेलिया ८ विकेटले पराजित

इकागज |
कात्तिक १४, २०७८ आइतबार ६:२९ बजे

काठमाडौं - इग्‍ल्‍यान्ड‍ले आइसीसी टी- ट्वान्टी  विश्वकप क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ । शनिबार  सुपर-१२ को समूह-१ मा रहेको इग्‍ल्‍यान्ड‍ले अष्ट्रेलियालाई ८ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । जितका लागि १२६ रनको  लक्ष्य पछ्याएको इग्‍ल्‍यान्ड‍ले ११ ओभर ४ बलमा २ विकेटको क्षतिमा १२६ रन बनायो ।

इग्‍ल्‍यान्ड‍को जितमा ओपनर जस बटलर  ७१ रनमा अविजित रहे । अर्का ओपनर जेसन रोयले २२ रन बनाए । यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया निर्धारित २० ओभरमा १२५ रनमा अल आउट भयो ।


अष्ट्रेलिया ओपनर तथा कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रनको योगदान दिए । इग्‍ल्‍यान्ड‍का  क्रिस जोर्डनले  सर्वाधिक ३ विकेट लिए । टाइमल मिल्सले २, आदिल राशिद र लियाम लिभिङस्टोनले १–१ विकेट लिए ।

इग्‍ल्‍यान्ड‍ले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र बंगलादेशलाई ८ विकेटले हराएको थियो । अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित थियो ।

सुपर-१२ को समूह-१ मा इग्‍ल्‍यान्ड‍ले ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया ३ खेलमा २ जित र १ हार सहित ४ अंकका साथ दोस्रो स्थानमा छ।

यसअघि शनिबारै भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि चार विकेटको जित हात पारेको थियो । जितको लागि १४३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको हो ।


Author

थप समाचार
x