क्रिकेट

आइसीसी टी–ट्‍वान्‍टी विश्वकप

भारतको सेमिफाइनल यात्रा कठिन

इकागज |
कात्तिक १५, २०७८ सोमबार ७:० बजे

काठमाडौँ - आइसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटअन्तर्गत गएराति भएको खेलमा न्युजिल्यान्डले भारतलाई आठ विकेटले हराएको छ । भारतले दिएको १११ रनको सामान्‍य लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो । न्युजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ४९ रन बनाए भने केन विलियम्सनले नटआउट ३३ रन बनाउँदा मार्टिन गुप्टिलले २० रनको योगदान गरे । भारतका लागि जसप्रीत बुमराले २ विकेट लिए ।

यसअघि टस हारेर ब्‍याटिङको निम्‍तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनाएको थियो । भारतको यो लगातार यो दोस्रो हार हो । भारत यसअघि पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । लगातार २ खेल हारेपछि भारतका लागि सेमिफाइनलमा स्थान बनाउन कठिन हुने भएको छ ।


समूहमा पाकिस्तान ३ खेलमा जित हात पार्दै ६ अंकसहित शीर्ष स्थानमा छ भने ३ खेलमध्ये २ मा जित हात पारेको अफगानिस्तान ४ अंकसहित दोस्रो स्थानमा छ । भारतले अब अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ । बाँकी सबै खेल जिते पनि भारत अफगानिस्तान र न्युजिल्यान्डबीचको खेलको नतिजामा निर्भर हुनुपर्ने देखिन्छ । भारत अर्को चरणमा पुग्न न्युजिल्यान्डले अफगानिस्तानलाई झिनो अन्तरले मात्रै हराउनुपर्नेछ ।


Author

थप समाचार
x