क्रिकेट

भारतीय क्रिकेट टिमको प्रदर्शनले आक्रोशित बने पूर्वखेलाडी

इकागज |
कात्तिक १५, २०७८ सोमबार १३:३६ बजे

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी टी–ट्‍वान्टी विश्वकपमा भारतले लगातार दोस्रो हार बेहोरेको छ । सुपर १२ को आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको भारत आइतबार न्युजिल्यान्डसँग पनि निराश बन्यो । शत प्रतिशत पराजय भोगेको भारत समूह २ को पाँचौँ स्थानमा सीमित छ । 

कमजोर लय देखाइरहेको भारतको सेमिफाइनलको लक्ष्यमै धक्का पुगेको छ । टी–ट्‍वान्टी विश्वकपमा उद्घाटन संस्करणमा च्याम्पियन बनेको भारतलाई यसपाली उपाधि दाबेदार मानिएको थियो । तर विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिमको प्रदर्शन अपेक्षा अनुरुपको छैन । यस्तोमा भारतीय समर्थक मात्रै होइन, पूर्व खेलाडीहरू पनि निराश बनेका छन् । 


‘भारतले असाध्यै निराशजनक खेल देखायो । भारतीय खेलाडीहरूको भाव पनि सकारात्मक देखिएन । बरु न्युजिल्यान्डले जित लायकको खेल देखायो,’ भारतका पूर्वखेलाडी विरेन्द्र सेहवागले सामाजिक सञ्जाल ट्‍वीटरमा लेखेका छन् । 

गौतम गम्भीरले पनि भारतीय टिमको आलोचना गरेका छन् । सन् २०११ मा सेहवागसँगै ५० ओभरको विश्वकप जितेका गम्भीरले भारती खेलाडीहरूले कमजोर मानसिकताले खेलेको आरोप लगाए । ‘आईसीसीका प्रतियोगितामा भारतले राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । द्विपक्षीय सिरिजमा मात्रै राम्रो खेलेर हुँदैन, विश्वकप जस्ता महत्वपूर्ण प्रतियोगितामा पनि आफूलाई प्रमाणित गर्नुपर्छ' गम्भीरले इएसपीएन क्रिक इन्फोसँग भनेका छन् । 

उता भारतीय टिमकै पूर्व ब्याट्सम्यान भीभीएस लक्ष्मणले भारतको सेमिफाइनल पुग्ने सपना पूरा हुने अवस्थामा नरहेको प्रतिक्रिया दिएका छन् । ‘भारतीय खेलाडीहरूको ब्याटिङ गतिलो भएन । उनीहरू खराब सट प्रहार गरिरहेका थिए । यो हारले भारतीय टिमलाई पीडा हुनुपर्छ’ लक्ष्मणको भनाइ थियो । 

भारतका पूर्व खेलाडीहरूसँगै इंग्ल्यान्डका पूर्व कप्तान माइकल भनले समेत भारतको हारलाई लिएर आफ्नो धारणा राखेका छन् । उनले भारत अझै सन् २०१० को क्रिकेट खेलिरहेको बताए । ‘विश्व क्रिकेट धेरै अगाडि पुगिसकेको अवस्था छ । तर भारत भने सन् २०१० को जस्तो खेलिरहेको छ । भारतीय टिममा प्रतिभाको कमी छैन । तर यति हुँदाहुँदै पनि प्रदर्शन राम्रो हुन सकेको छैन’ भनको भनाइ थियो । 


Author

थप समाचार
x