‘छ महिनादेखि घर परिवारबाट टाढा रहेका भारतीय खेलाडीमा मानसिक थकान छ’
काठमाडौँ- यसपालीको टी–ट्वान्टी विश्वकपमा भारतीय टिमले जित हात पार्न सकेको छैन । खेलेका दुवै खेलमा भारत पराजित भएको छ । पहिलो खेलमा छिमेकी पाकिस्तानसँग हारेको भारत दोस्रो खेलमा सोमबार न्युजिल्यान्डसँग पराजित भयो । सुपर १२ मा लगातार दुई खेल गुमाएपछि विश्वकप सेमिफाइनलबाट भारत निकै पर पुगेको छ ।
भारतीय टिमको खराब लयले समर्थक मात्रै होइन, पूर्वखेलाडी पनि आक्रोशित बनेका छन् । यसैबीच भारतीय टिमका बलर जसप्रित बुमराहले आफूहरू ‘बबल’ नियमका कारण थकित रहेको र यसले प्रदर्शनमा असर गरिरहेको बताएका छन् । कोभिड–१९ महामारीबीच क्रिकेटलाई निरन्तरता दिन ‘बबल’को सहारा लिइएको छ ।
‘बबल’ कोभिड सम्बन्धी नियम हो । जस अनुसार खेलाडीहरू कोभिड भाइरसबाट संक्रमित नहुन् भनेर उनीहरुलाई अलग्गै राखिन्छ । परिवार र बाँकी समाजबाट टाढै रहेर, खेलाडीहरुले खेललाई निरन्तरता दिइरहेका हुन्छन् । एउटा टिमका खेलाडीलाई एउटै टिममा राखिए पनि एक अर्काको कोठामा जान बञ्चित गरिएको छ । र, अभ्यास गर्दा पनि खेलाडीहरूलाई सानो–सानो समूहमा बाँडिन्छ ।
यसरी इन्डियन प्रिमियर लिग (आईपीएल) आयोजना भयो भने विश्वकपमा पनि यही नियम लागू गरिएको छ । भारतीय टिम गत अप्रिलबाट नै ‘बबल’मा छ । यही ‘बबल’लाई बुमराहले दोष दिएका हुन् । ‘बबल’ र कोभिड सम्बन्धी अन्य नियमका कारण खेलाडीहरु थाकेको बुमराहको भनाइ थियो ।
‘छ महिना भयो, हामी घर परिवारबाट बाहिर रहेको । हामी घर परिवारलाई मिस गरिरहेका छौँ । खेलिरहेका बेला घर परिवारलाई सम्झिने भन्ने त हुँदैन, तर यो कुराले असर गरेको छ । लामो समय बबलमा बसिरहँदा हामी मानसकि रूपमा पनि थकित भएका छौँ,’ बुमराहले भारतीय पत्रकारहरूसँग भनेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया