सेमिफाइनलका विषयमा भारतीय टिमभित्र छलफल भएको छैनः रविचन्द्रन आश्विन
काठमाडौँ- यसपालीको टी–ट्वान्टी विश्वकप भारतका लागि सोचे अनुसारको हुन सकेको छैन । सुपर १२ मा दुई खेल हारेको भारत समूह २ को चौथो स्थानमा छ । बुधबार अफगानिस्तानलाई हराएपछि अंकको खाता खोलेको भारतले समूह चरणमा अब दुई खेल खेल्न बाँकी छ । सेमिफाइनल प्रवेशका लागि भारतले ती दुवै खेलमा जित हासिल गर्नुपर्नेछ ।
पहिलो संस्करणको टी–ट्वान्टी विश्वकपको जितेको भारतलाई यसपाली पनि उपाधि दाबेदारका रूपमा हेरिएको थियो । तर सुपर १२ मा पाकिस्तान र न्युजिल्यान्डसँग हारेपछि भारतको अबको प्राथमिक लक्ष्य भनेको सेमिफाइनल नै हो । यद्यपि भारतीय टिमभित्र भने सेमिफाइनलका विषयमा कुरा नभएको बताउछन्, रविचन्द्रन आश्विन ।
‘सेमिफाइनलका विषयमा हामीबीच कुनै छलफल भएको छैन । हामी बाँकी खेलमा केन्द्रित छौँ । सबैको मस्तिष्कमा बाँकी दुई खेलमा कसरी राम्रो प्रदर्शन गर्ने भन्ने नै छ । सेमिफाइनलबारे साचिसकेको छैनौँ । अनि यो हाम्रो हातमा पनि छैन ।,’ शुक्रबार हुने स्कटल्यान्डसँगको खेलअघि आश्विनले भने ।
भारतको समूहबाट पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । भारतका लागि भने सेमिफाइनल यात्रा कठिन छ । भारतीय टिमले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न स्कटल्यान्ड र नामिबियालाई हराएर मात्रै पुग्दैन । भारत सेमिफाइनल पुग्नका लागि अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनु पर्नेछ । अनि रनरेटको कुरा त छँदैछ ।
‘हामी अचम्मको अवस्थामा छौँ । हाम्रो सेमिफाइनल भविष्य अब अफगानिस्तानको प्रदर्शनमा निर्भर छ । अफगानिस्तानले यो विश्वकपमा राम्रो प्रदर्शन गरिरहेको छ । न्युजिल्यान्डविरुद्धको खेलमा अफगानी खेलाडीहरूले बलियो खेल देखाउँछन् भन्ने आशा छ ।,’ आश्विनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया