क्रिकेटमा अडिएको अफगानी खेलकुदको भविष्य
काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकपमा समूह–२ को खेलमा आइतबार दिउँसो न्युजिल्यान्ड र अफगानिस्तान भिड्दैछन् । यस खेलका लागि अफगानिस्तानले आफ्नो देशवासीको मात्रै होइन्, भारतीय समर्थकको पनि साथ पाउनेछ । सामाजिक सञ्जालमा भारतीय समर्थकले अफगानी टिमका लागि आफ्नो समर्थन जाहेर गरिरहेका छन् ।
कतिसम्म भने भारतीय टिमका रविचन्द्रन आश्विनले अफगानी टिमका लागि आफ्नो फिजियोथेरापिस्ट खटाउने अभिव्यक्ति दिएका छन् । भलै यो आश्विनका तर्फबाट ठट्टा हो, तर यसले के देखाउँछ भने, भारत कुनै पनि हालतमा अफगानिस्तानले जितोस् भन्ने चाहन्छ । किनभने भारतको सेमिफाइनल लक्ष्य यही खेलको नतिजामा निर्भर छ ।
उसो त न्युजिल्यान्ड र अफगानिस्तान आफैँ पनि सेमिफाइनल पुग्ने दौडमा छन् । जित हात पारे न्युजिल्यान्ड स्वत सेमिफाइनल पुग्नेछ । यदि यसो भए, न्युजिल्यान्ड आईसीसीका सबै प्रतियोगिताको फाइनल पुग्ने टिम बन्ने बाटोतर्फ अग्रसर हुनेछ । न्युजिल्यान्ड सन् २०१९ को ओडीआई विश्वकपमा उप–विजेता बनेको थियो भने उसले यसै वर्ष विश्व टेस्ट च्याम्पियनसिपको उपाधि उचाल्यो ।
उता अफगानिस्तानका लागि न्युजिल्यान्डमाथि जित दर्ता गरेर मात्रै पुग्दैन । रनरेटमा भारतलाई पछि पार्न आवश्यक छ । भारत आफ्नो अन्तिम खेलमा नामिबियासँग खेल्दैछ । अफगानिस्तान यो विश्वकपको सेमिफिाइनलमा पुग्न सकेन भने पनि उसको प्रदर्शनले दिएको सन्देश भने स्पष्ट छ, विश्व क्रिकेटमा अफगानिस्तान बलियो शक्ति बन्ने बाटोमा छ ।
अफगानी खेलाडीहरूका अगाडि अर्को तीतो यथार्थ छ, त्यो भनेको उनीहरूको अनिश्चित भविष्य हो । काबुलमा तालिबानी शासन फर्किएसँगै समग्र अफगानी खेलकुदको भविष्य अनिश्चित बनेको छ । महिला क्रिकेट त लगभग बन्द नै भइसक्यो । अनि महिला फुटबल टिमका सदस्यहरूले पनि देश छाडेको अवस्था छ । यस्तोमा विश्वकप सेमिफाइनलमा स्थान पक्का गरे अफगानी क्रिकेटहरूले आफ्नो देशमा खुसीको माहोल त सिर्जना गर्ने नै छन्, तालिबानलाई पनि आफ्नो नीतिमा पुर्नविचार गर्न बाध्य बनाउन सक्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया