विश्व क्रिकेटलाई फेरि रोमाञ्चित बनाउने ध्येयमा इंग्ल्यान्ड र न्युजिल्यान्ड
काठमाडौँ- सन् २०१९ मा इंग्ल्यान्ड र वेल्सले संयुक्त रुपमा आईसीसी विश्वकप आयोजना गरेका थिए । आफ्नै भूमिमा आयोजना भएको ओडीआई विश्वकपको फाइनलमा इंग्ल्यान्डले न्युजिल्यान्डको सामना गरेको थियो । सुपर ओभरले समेत नतिजा दिन नसकेपछि च्याम्पियन टिमको निक्र्योल गर्न ‘बाउन्ड्री काउन्ट–ब्याक’ नियमलाई जिम्मा दिइएको थियो । जसमा आयोजक इंग्ल्यान्ड भाग्यमानी सावित भयो ।
यी दुई टिम पुनः एकपटक आईसीसीले आयोजना गरेको प्रतियोगिताको महत्वपूर्ण खेलमा आमनेसमाने हुँदैछन् । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी टी–ट्वान्टी विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डको भेट हुन लागेको हो ।
एक दिवशीय तथा टी–ट्वान्टी ढाँचाको समकालिन क्रिकेटमा इंग्ल्यान्ड बलियो टिममध्येको एक हो । उता न्युजिल्यान्डको परिचय पनि कम सशक्त छैन । विश्व क्रिकेटमा मुख्य मानिने प्रतियोगिताका पछिल्ला चार फाइनलमध्ये तीनमा स्थान बनाएको टिम हो, न्युजिल्यान्ड । यस्तोमा आबुधाबीमा हुने सेमिफाइनल खेल कडा हुने अपेक्षा गरिएको छ । फेरि दुई वर्षअघिको विश्वकप फाइनलले पनि देखाइसकेको छ, जब यी दुई टिम नकआउट खेलमा भिड्छन् तब क्रिकेट प्रेमी रोमाञ्चित हुन्छन् नै ।
केन विलियम्सन नेतृत्वको न्युजिल्यान्डले यस वर्ष आईसीसीले आयोजना गरेको प्रतियोगिता जितिसकेको छ । इंग्ल्यान्डमै भएको विश्व टेस्ट च्याम्पियनसिपको उपाधि भिडन्तमा न्युजिल्यान्डले भारतलाई पन्छाएको थियो । अब न्युजिल्यान्डको लक्ष्य हो, आईसीसीले आयोजना गरेको अर्को प्रतियोगिता जित्नु । उता इंग्ल्यान्ड दोस्रो पटक टी–ट्वान्टी विश्वकप जित्ने ध्येयमा छ । यसोभए उसले लगातार दुई ढाँचाको विश्वकप जित्नेछ ।
यी दुई टिम प्रतिस्पर्धामा उत्रनै लाग्दा न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टिडले लर्ड्सको त्यो फाइनल भुलिसकेका छैनन् । यद्यपि बुधबारको भिडन्तले सन् २०१९ को फाइनलको झल्को दिनेछ भन्ने अनुमान उनले गरिहालेका छैनन् । ‘विश्वकप फाइनलमा जे भयो, यो खेलमा पनि त्यही हुनसक्छ भन्ने अनुमान गर्न सकिँदैन । तर इंग्ल्यान्ड अहिले पनि असाध्यै बलियो टिम हो । र उविरुद्ध खेल्न हामी उत्साहित छौँ,’ स्टिडले सेमिफाइनलअघि आयोजित पत्रकार सम्मेलनमा भनेका छन् ।
यो विश्वकपमा स्टिड नेतृत्वको न्युजिल्यान्डले आफ्नो पहिलो खेल नै गुमाएको थियो । न्युजिल्यान्डलाई सुपर १२ को समूह २ को खेलमा पाकिस्तानले स्तब्ध बनाएको थियो । तर त्यसपछिका चार खेलमा न्युजिल्यान्ड विजयी बन्यो । ट्रेन्ट बोल्ट र उनका बलर साथीहरूले धारिलो बलिङ गरेपछि न्युजिल्यान्डलाई यहाँसम्मको यात्रा तय गर्न खासै कठिनाइ भएन । ब्याटिङ विभागमा पनि न्युजिल्यान्ड उस्तै बलियो देखिएको छ । कप्तान विलियम्सन र मार्टिन गुप्टिल ब्याटिङमा प्रभावकारी देखिएका छन् ।
उता इंग्ल्यान्डले समूह चरणको आफ्नो अन्तिम खेलमा दक्षिण अफ्रिकासँग पराजय भोगेको थियो । दक्षिण अफ्रिकासँगको हारले इंग्ल्यानडलाई केही फरक नपारे पनि उसले आफ्ना महत्वपूर्ण खेलाडी जेसोन रोयलाई गुमायो ।
रोयको अनुपस्थितीमा जोन्नी बेरस्टोले जोस बट्लरसँग ओपनिङ गर्ने अनुमान गरिएको छ । योबाहेक अन्य विकल्प पनि इंग्ल्यान्डको टिममा छ । ‘रोयले घाइते हुनु हाम्रा लागि दुर्भाग्य हो । उनको ब्याटिङ मात्र होइन, फिल्डिङमा उनको उपस्थिती पनि हामीले गुमाउने छौँ,’ इंग्ल्यान्डका अलराउन्डर मोइन अलीले भनेका छन् ।
दक्षिण अफ्रिकासँगको पराजयले इंग्ल्यान्डलाई झसंग बनाएको अनुमान गर्न गाह्रो छैन । लगातार चार जितपछि हारेको इंग्लिस टिमले न्युजिल्यान्डविरुद्ध मैदानमा उत्रदा अलिक बढी संयम देखाउने अपेक्षा गरिएको छ । फेरि इंग्ल्यान्डले यहीबेला अर्का खेलाडी पनि गुमाएको छ । टी–ट्वान्टी क्रिकेटमा प्रभावकारी मानिने बलर टाइमल मिल्स बुधबारको सेमिफाइनलमा देखिने छैनन् । मिल्सका स्थान लिन इंग्लिस टिममा पर्याप्त खेलाडी रहेकाले आफूहरू हतोत्साहित भने नभइहालेको अलीका भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया