टी-ट्वान्टी विश्वकप फाइनल
४ ओभरमा ६० रन दिने महंगा बलर
काठमाडौँ - मिचेल स्टार्क क्रिकेटमा परिचित नाम हो । अष्ट्रेलियाका नम्बर एक बलर स्टार्क क्रिकेटका तीन वटै फर्म्याटमा फिट बलर पनि हुन् । निकै तीव्र गतिमा बलिङ गर्ने स्टार्क टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा भने न्युजिल्यान्डविरुद्ध निकै महंगा साबित भए ।
उनले चार ओभरमा ६० रन खर्चिए । कुनै विकेट लिन सकेनन् । उनले चार ओभरमा पाँच रन ‘सिंगल’ दिए । नौ चौका दिए । एक छक्का दिए । स्टार्कले एक ‘वाइड’ र एक ‘नो बल’ पनि फ्याँके । उनको ‘नो बल’मा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले चौका हानेका थिए ।
उनको दोस्रो र तेस्रो ओभर निकै महंगो साबित भयो । स्टार्कको दोस्रो ओभरमा विलियम्सनले १८ रन बनाए । जसमा तीन चौका सामेल छ । तेस्रो ओभरमा झन् आक्रामक ब्याटिङ गर्दै विलियम्सनले २२ रन जोडे । जसमा चार चौका र एक छक्का पनि सामेल छ । विलियम्सनले सर्वाधिक ८५ रन जोडे । उनले स्टार्कलाई छक्का र चौका हिर्काउँदै फाइनलमा अर्धशतक बनाएका हुन् ।
तीन ओभरमा ५० रन दिएका स्टार्कले अन्तिम ओभरमा १० रन दिए । दुई ओभरमा भने उनले ४१ रन दिए । निकै तीव्र गतिमा पेस बलिङ गर्ने बाया हाते बलर स्टार्क यो विश्वकप क्रिकेटको फाइनलमा भने महंगो साबित भए ।
उनलाई फाइनलमा चम्किने आश गरिएको थियो । सोही कारण उनले पहिलो ओभर बलिङ गरे । तर उनको साटो जोश हेजेल्वुडले लोभलाग्दो प्रदर्शन गरे । उनले चार ओभर बलिङ गर्दा मात्रै १६ रन दिएर ३ विकेट लिए ।
उनले न्युजिल्यान्डका कप्तान विलियम्सनसहित ओपनर डर्याल मिचेल र ग्लेन फिलिप्सको विकेट लिए । तर रोचक के भने तीन विकेट लिएर ‘हिरो’ बनेका हेजेल्वुडले स्टार्कको बलमा विलियम्सनको ‘क्याच ड्रप’ गरेका थिए ।
१० औँ ओभरको चौथो बलमा विलियम्सनले चौका हाने । त्यो बल हेजेल्वुडको हातमा परेको थियो । उनले उफ्रेर बल समात्ने कोशिस गरेका थिए । तर नियन्त्रणमा राख्न सकेनन् । बल उनको हातको औलाबाट उछिट्टिएर भुईमा खस्यो । क्याच ड्रप भयो । चौका बन्यो । विकेट गयो भनेर स्टार्क आशातित थिए ।
तर हेजेल्वुडले क्याच ड्रप गरे । त्यतिबेला स्टार्कले हात टाउकोमा राखेर घुँडा टेकेर बसेका थिए । यसले फ्यानलाई पनि स्तब्ध बनायो । स्टार्कको आलोचना बढ्यो । अष्ट्रेलियाको फाइनल बलिङमा ३ विकेट लिने हेजेल्वुड हिरो बन्दा स्टार्क भिलेन बनेको समाचार हेडलाइन बनिरहेका छन् । तर यसको रोचक कथा केही फरक छ ।
ट्वीटरमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘हेजेल्वुडले क्याच ड्रप गर्दा स्टार्क भिलेन बनेका हुन् ।’
क्रिकट्रयाकरका अनुसार स्टार्क टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलका सबैभन्दा महंगा बलर बनेका छन् । उनले चार ओभरमा कुनै विकेट नलिई ६० रन दिएर महंगा बनेका हुन् ।
यसअघि यो खराब रेकर्ड श्रीलंकाका लासिथ मालिंगाको नाममा थियो । मालिंगाले सन् २०१२ को विश्वकप फाइनलमा वेष्ट इन्डिजविरुद्ध ५४ रन खर्चेका थिए ।
फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनायो । जसमा तीन विकेट हेजेल्वुडले लिएका थिए भने एउटा विकेट एडम जाम्पाले लिए ।
महंगा साबित भएका स्टार्कसहित प्याट कुमिन्स, ग्लेन म्याक्सवेल र मिचेल मार्स पनि विकेटविहीन रहे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया