‘स्क्यान्डल’मा फसेपछि टिम पेनले त्यागे अस्ट्रेलियाको कप्तानी
काठमाडौँ- टिम पेनले अस्ट्रेलियन टेस्ट टिमको कप्तानी त्यागेको घोषणा गरेका छन् । चार वर्षअघि एक महिलालाई अश्लिल सन्देश तथा फोटो पठाएको निहुँमा विवादित भएपछि पेनले कप्तानीबाट राजीनामा दिएका हुन् ।अस्ट्रेलियाको क्रिकेट बोर्डले छानबिन गरी क्लिनसिट दिएको भए पनि आफूले राजीनामा दिने निर्णय गरेको पेनको भनाइ छ ।
‘मैले मेरो श्रीमती र समग्र परिवारको चित्त दुखाएको छु । मैले पठाएको सन्देशले अर्को पक्षलाई पनि चोट पुर्याएको छ । मेरो गतिविधिले अस्ट्रेलिया क्रिकेटको इज्जतमाथि पनि प्रश्न उठेको छ । मेरो कारणले अस्ट्रेलियाको टिममाथि थप प्रश्न नउठोस् भनेर जिम्मेवारीबाट अलग हुने निर्णय गरेको हुँ,’ पेनले भने ।
अस्ट्रेलियाको अखबार हेराल्ड सनका अनुसार पेनले सन् २०१८ मा क्रिकेट तास्मानियाकी एक कर्मचारीलाई अश्लिल सन्देश तथा फोटो पठाएका थिए । ती महिलाले पछि आफ्नो पदबाट राजीनामा दिइन् र राजीनामा दिएको केही समयपछि क्रिकेटअस्ट्रेलियासमक्ष उजुरी गरिन् ।
‘मलाई लागेको थियो, यो घटनाबाट हामी अगाडि बढिसक्यौँ । तर केही समयअघि मैले पठाएको सन्देश सार्वजनिक गर्न लागिएको थाहा पाए । यसकारण थप विवाद सिर्जना नहोस् भनेर मैले राजीनामा दिने निर्णय लिएको हुँ,’ पेनले भनेको छ ।
उता तास्मानिया क्रिकेटले पेन र ती महिलाबीच सन्देश आदानप्रदान भएको प्रष्ट भएको तर त्यो सन्देश आदानप्रदान नितान्त व्यक्तिगत प्रकृतिको भएको बताएको छ । रोचक के छ भने, ती महिलालाई सन् २०१८ को मध्यतिर चोरीको आरोप लागेको थियो । त्यसपछि उनले जागिर छाडिन् र पेनले आफूलाई अश्लिल सन्देश पठाएको खुलासा गरिन् ।
‘स्क्यान्डल’का कारण कप्तानी छाड्ने पेन पहिलो अस्टे«लियन खेलाडी होइनन् । यसअघि स्टिभ स्मिथले पनि विवादकै कारण कप्तानी त्यागेका थिए । उनीमाथि ‘बल टेम्परिङ’को अभियोग थियो । स्मिथ कप्तानबाट हटेपछि पेन नयाँ कप्तान बनेका थिए । पेनलेअस्ट्रेलियालाई २३ टेस्टमा कप्तानी गरे । उनको नेतृत्वमाअस्ट्रेलियाले ११ टेस्ट जित्न सफल भयो भने आठमा पराजय भोग्यो ।
कप्तानी छाडेपनि खेलका लागि आफू उपलब्ध हुने प्रष्ट पारेका छन् । उता क्रिकेटअस्ट्रेलियाले पेनको राजीनामा स्विकृत भइसकेको र चाँडै नै नयाँ कप्तान चुनिने बताएको छ । हालका लागि उपकप्तान रहेका पाट क्युमिन्सले टिमको नेतृत्व गर्ने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया