ढाकामा पाकिस्तानको जित, बंगलादेश चार विकेटले पराजित
काठमाडौँ- बंगलादेशको भ्रमणमा रहेको पाकिस्तानले पहिलो टी–ट्वान्टी खेलमा घरेलु टिमलाई चार विकेटले पराजित गरेको छ । ढाकास्थित शेर ए बंगला राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशले पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा सात विकेट गुमाएर बंगलादेशले १२७ रन जोडेको थियो । जवाफी ब्याटिङ गरेको पाकिस्तानले १९.२ ओभरमा ६ विकेट गुमाएर १३२ रन बनायो ।
बंगलादेशलाई सस्तैमा समेट्न पाकिस्तानका फास्ट बलर हसन अलीले २२ रन खर्चिएर तीन विकेट हात पारे भने मोहम्मद वासिमको नाममा दुई विकेट रह्यो । बंगलादेशका लागि अफिफ होसनले सर्वाधिक ३६ रनको योगदान गरे भने महेदी हसन ३० रनमा अविजित रहे । त्यसैगरी नुरुल हसनले २८ रन बनाए । बाँकी ब्याट्सम्यानले भने घरेलु टिमका लागि दोहोरो अंक जोड्न सकेनन् ।
विजयी टिम पाकिस्तानले कमजोर सुरुवात गरेको थियो । ओपनरद्वय मोहम्मद रिज्वान र बाबर आजम क्रमशः ११ र सात रनमा पभेलियन फर्किए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका फखर जमानले ३४ रन बनाएर पाकिस्तानी इनिङ्ग्स सम्हाल्ने कोशिस गरे ।
खेल जित्न पाकिस्तानको तल्लो क्रमको भूमिका महत्वपूर्ण रह्यो । मोहम्मद नवाज र शादब खानले अविजित १८ तथा २१ रनको योगदान गरे । त्यसअघि खुशदिल शाहले ३४ रन बनाएका थिए । बलिङतर्फ बंगलादेशका तास्किन अहम्मदले दुई विकेट लिए भने महेदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले एक–एक विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया