क्रिकेट

महिला विश्वकप छनौटः कुवेतमाथि नेपालको सजिलो जित

इकागज |
मंसिर ९, २०७८ बिहीबार १३:४ बजे

काठमाडौँ- आईसीसी महिला टी–ट्वान्टी क्रिकेट विश्वकपको एसियाली छनौटमा नेपाली महिला टिमले बिहीबार दोस्रो जित हासिल गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा भएको खेलमा नेपालले नौ विकेटको जित दर्ता गरेको हाे । 

टस जितेर ब्याटिङ गरेको कुवेत १५.४ ओभरमा २७ रन बनाउँदै अलआउट भएको थियो । कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालकी कप्तान तथा ओपनर रुविना क्षेत्री १२ रनमा आउट भएकी थिइन् भने इन्दु बर्माले अविजित १३ रन जोडिन् । 


कुवेतका लागि प्रियदा मुरलीबाहेक कुनै पनि ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । उनले १० रन बनाइन् । कुवेतका सात ब्याट्सवुमन शून्यमै आउट भएका थिए ।  

बलिङतर्फ नेपालकी संगिता राईले तीन विकेट हात पारिन् । यसैगरी करुणा भण्डारी र रुविना क्षेत्रीले दुई–दुई विकेट लिए भने सरस्वती कुमारीको नाममा एक विकेट रह्यो । 

विश्वकप छनौटमा नेपालले तीन खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा हङकङसँग हारेको नेपालले दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार मलेसियाको सामना गर्नेछ । 
 


Author

थप समाचार
x