क्रिकेट

कोहलीबिना अस्ट्रेलियामा ताजा सुरुवात गर्न भारत सक्षम छ ?

इकागज |
पुस १०, २०७७ शुक्रबार १३:१० बजे

काठमाडौं : अस्ट्रेलियाको भ्रमणमा निस्केको भारतीय क्रिकेट टिम घरेलु टोलीविरुद्धको पहिलो टेस्टमा पराजित भइसकेको छ । शनिबार सुरु हुने दोस्रो टेस्टमा नतिजा आफ्नो पक्षमा पार्दै श्रृङ्खलामा बराबरी गर्नुपर्ने चुनौति भारतलाई छ । तर कप्तान विराट कोहलीबिना त्यो पनि घरेलु मैदानमा टेस्ट श्रुङ्खला बिरलै गुमाउने अस्ट्रेलियाविरुद्ध खरो उत्रन भारतलाई सजिलो छैन । बोर्डर-गावस्कर ट्रफीको नाम दिइएको यस श्रृङ्खलामा भारतले मेहम्मद शामीलाई समेत गुमाइसकेको छ ।

पहिलो टेस्टमा सर्वाधिक कम रन बनाएर भारतले कीर्तिमान नै राख्यो । त्यसकारण मेलर्बनमा हुने दोस्रो टेस्टमा कमजोर आत्मविश्वासबाट गुज्रिरहेका खेलाडीलाई तयार पार्नु अर्को चुनौति हो । त्यसो त दुई वर्ष अघि यही मैदानमा भारतले अस्ट्रेलियाविरुद्धको टेस्ट श्रृङ्खलामाथि कब्जा जमाएको थियो । कार्यबहाक कप्तान अजिंक्या रहानेसँग आफ्ना सहकर्मीहरुलाई त्यो याद ताजा गराउने विकल्प छ ।


रहाने र पुजारामाथिको विश्वास 
रहाने टिम सदस्यका रुपमा महत्वपूर्ण त छन् नै, साथै कप्तान कोहलीले सुम्पेको जिम्मेवारी पनि पुरा गर्नु छ । कोहलीको अनुपस्थितीमा के एल राहुलले उनको स्थान लिने अपेक्षा गरिएको छ भने घाइते मोहम्मद शामीको ठाउँमा मोहम्मद सिराजलाई प्रयोग गरिने सम्भावना छ । त्यस्तै, शुभम गिल शनिबारको टेस्टमा डेब्यु गर्न तयार भएर बसेका छन् । उता, रवीन्द्र जडेजालाई रहानेले कसरी प्रयोग गर्छन् हेर्न बाँकी छ । भारतका लागि उपयोगी सिद्ध हुने अर्का खेलाडी हुन्, हनुमान बिहारी । तर उनको स्थान जडेजाले लिने सम्भावनालाई नर्कान सकिँदैन । पहिलो टेस्टमा फितलो देखिएको भारतीय ब्याटिङले दोस्रो टेस्टमा पनि अस्ट्रेलियाको विश्वस्तरिय पेसरको सामना गर्ने नै छ । त्यसका लागि रहाने तयार हुनु पर्नेछ भने उनलाई चेतेस्वर पुजाराले पूर्णरुपमा साथ दिनु पर्नेछ । अर्को वाक्यमा भन्दा, रहाने र पुजाराले अस्ट्रेलियाको बलिङलाई कसरी सामना गर्छन्, त्यसले जारी टेस्ट श्रृङखलालाई बराबरीमा पुर्‍याउने भारतको आकंक्षामा भुमिका खेल्नेछ । रहाने र पुजाराका लागि यो तेस्रो अस्ट्रेलिया भ्रमण हो । विगतमा यी दुवै खलाडीले अस्ट्रेलियन भूमिमा राम्रो प्रदर्शन गरेका छन् । त्यसकारण पनि अस्ट्रेलियन बलरको लक्ष्य यी दुई ब्याट्सम्यानलाई सस्तोमा आउट गर्ने हुनेछ ।

स्मिथ ‘फ्याक्टर’
पहिलो टेस्टको सफलता र मेलर्बनमा बक्सिङ डेका दिन उपस्थित हुने हजारौ दर्शकको गर्जनले घरेलु टिमलाई उर्जा दिने नै छ । साथै चुनौति पनि । अनि त्यस्तो वातावरणमा स्टिभ स्मिथले कसरी प्रदर्शन गर्छन्, अनुमान गर्न मुश्किल छ । यद्यपि भारतका बलरलाई स्मिथ नै सबैभन्दा ठूलो चुनौति हुन् । भारतका विरुद्धमा प्राय बलियो लय देखाउने स्मिथले अझ मेलर्बनमा त झन् उच्च रन बनाउने गरेका छन् । भारतले स्मिथलाई रोक्न बनाएको योजनामा रवीचन्द्र आश्विनको भूमिका महत्वपूर्ण हुनेछ । पहिलो टेस्टको पहिलो इनिङमा स्मिथलाई सस्तोमा समेटेका आश्विनले फेरि पनि उस्तै जाद् देखाए भारतका लागि सुखद समाचार हुनेछ । सेप्टेम्बर यता टेस्टमा खासै उल्लेख्य प्रदर्शन गर्न नसकेका स्मिथलाई भारतीय बलरले रोक्न सके अस्ट्रेलिया दबाबमा पर्नेछ ।

इतिहास दाहोर्‍याउन सक्षम भारत
दुई वर्षअघि घरेलु टिम अस्ट्रेलियालाई पराजित गर्दा भारतीय टिममा रोहित शर्मा र इशान्त शर्मा सहित पहिलो रोजाईका चार खेलाडी थिएनन् । त्यस्तै, सन् २०१७ मा भारतले धर्मशालामा अस्ट्रेलियामाथि जित दर्ता पनि कोहली, शामी र दुई शर्मा अनुपस्थित थिए । त्यसबखत, जसप्रित बुमराहले त भारतका लागि डेब्यु पनि गरेका थिएनन् भने राहुल, पुजारा, आश्विन, जडेजा र उमेश यादबले सम्झनलायकको प्रदर्शन गरेका थिए । त्यस जितले भारतले आफ्ना महत्वर्पूा स्टार बिना पनि अस्ट्रेलिया जस्तो बलियो टिमलाई हराउन सक्छ भन्‍ने दृष्टान्त पेश गरेको थियो । भारत आत्मविश्वासी देखिने हो भने, मेलर्बनमा अर्को जित दर्ता गर्न असम्भव छैन । (भारतीय सञ्चारमाध्यमको सहयोगमा) 


Author

थप समाचार
x