क्रिकेट

भारतीय एकदिवसीय क्रिकेट टिमको कप्तानी पनि रोहितलाई

इकागज |
मंसिर २२, २०७८ बुधबार २२:५८ बजे

काठमाडौँ - भारतीय एकदिवसीय टिमको कप्तानी रोहित शर्माले पाएका छन् । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले टी ट्वान्टीपछि एकदिवसीय टिमको कप्तानी पनि रोहित शर्मालाई दिएको हो ।

दक्षिण अफ्रिका भ्रमणअघि बीसीसीआईले एकदिवसीयमा पनि विराट कोहलीको नेतृत्वलाई निरन्तरता दिन अस्वीकार गर्दै रोहितलाई जिम्मेवारी सुम्पेको हो । यसअघि विराटले टी ट्वान्टी क्रिकेटको कप्तानी छाडेपछि रोहितलाई जिम्मेवारी दिइएको थियो । पछिल्लो समय कोहली टेस्ट क्रिकेटमा केन्द्रित हुने बताएपछि रोहितलाई एक कदम अगाडि नै एकदिवसीय क्रिकेटको कप्तानी दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


कोहलीले अब भारतीय टेस्ट क्रिकेटको कप्तानी मात्रै गर्नेछन् । उनले सीमित ओभरको कप्तानी छाड्नेबारे यसअघि नै बीसीसीआईका पदाधिकारीसँग परामर्श गरिरहेका थिए । सोहीअनुसार कोहलीले टी ट्वान्टी क्रिकेटको कप्तानी छाडेपनि बीसीसीआईले नै एकदिवसीय क्रिकेटको कप्तानी विराटबाट रोहितमा हस्तान्तरण गरेको हो ।

यसलाई आइसीसीले भारतीय क्रिकेट टिमको नयाँ युगका रुपमा टिप्पणी गरेको छ । क्रिकेटका तीन वटै संरचनामा उत्कृष्ट खेलाडी गनिएका कोहलीले आफ्नो नेतृत्वमा भारतलाई उपाधि दिलाउन नसकेपछि उनको कप्तानीमा प्रश्न उठ्दै आएको थियो ।


Author

थप समाचार
x