क्रिकेट

कोहलीसँग सम्बन्ध हार्दिक छः नवकप्तान रोहित

इकागज |
मंसिर २७, २०७८ सोमबार १५:३ बजे

काठमाडौँ- भारतको ओडीआई तथा टि–ट्‍वान्टी क्रिकेट टिमका कप्तान रोहित शर्माले विराट कोहलीको नेतृत्वमा खेल्दा आफूलाई रमाइलो लागेको बताएका छन् । गत बुधबार मात्रै कोहलीलाई कप्तानका रुपमा प्रतिस्थापन गरेका रोहितले बीसीसीआई टिभीसँगको कुराकानीमा कोहलीको कप्तानीमा खेल्दा भारतीय टिम सधैँ जितको लक्ष्य लिएर मैदान उत्रने गरेको भनाइ राखेका हुन् । 

‘उनले पाँच वर्ष कप्तानी गरे । उनको नेतृत्वमा खेल्दा हाम्रो एकमात्र लक्ष्य जित हुने गथ्र्यो । खेलअघि टिमका सबै खेलाडीलाई यही सन्देश प्रवाह गरिन्थ्यो, आज जित्नै पर्छ । हाम्रा लागि उनी असाध्यै राम्रा कप्तान रहे,’ रोहितले भनेका छन् । 


संयुक्त अरब इमिरेट्स (यूएई)मा भएको टि–ट्वान्टी विश्वकपपछि कोहलीले टि–ट्वान्टी टिमको कप्तानी त्यागेका थिए । ओडीआई तथा टेस्ट टिमलाई चाहिँ नेतृत्व गरिरहने मनसाय व्यक्त गरेको कोहलीलाई अन्ततः रोहितले ‘लिमिटेड ओभर’टिमको कप्तानका रुपमा प्रतिस्थापन गरे । कोहलीलाई टिम कप्तानका रुपमा प्रतिस्थापन गरे पनि आफू र उनीबीचको सम्बन्ध हार्दिक नै रहेको रोहितको भनाइ थियो । 

भारतीय टिमले सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेयता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को कुनै पनि प्रतियोगिता जित्न नसकेको भनेर आलोचना खेपिरहेको छ । यसै सन्दर्भमा रोहितले भनेका छन्, ‘आईसीसीको प्रतियोगिता जित्नेछौँ भन्नुअघि धेरै कुरा गर्नुपर्ने हुन्छ । उसो त च्याम्पियन्स ट्रफीपछि हाम्रो प्रदर्शन खराब नै भने छैन । हो हामीले थोरै बढी मेहेनत गर्नु पर्ने चाहिँ छ । भविष्यमा पनि विश्वकपका कयौँ संस्करण हुने नै छन् । तिनमा हाम्रो उदेश्य च्याम्पियन बन्‍ने हुनेछ ।’
 
 
  
 


Author

थप समाचार
x