क्रिकेट

दोस्रो टेस्टअघि आत्मविश्वासी रहने प्रयासमा इंग्ल्यान्ड

इकागज |
मंसिर २८, २०७८ मंगलबार १५:३८ बजे

काठमाडौँ- अस्ट्रेलिया र इंग्ल्यान्डबीचको दोस्रो टेस्ट एडलेइडमा बिहीबारबाट सुरु हुँदैछ । राति पनि जारी रहने यो टेस्टअघि भ्रमणकारी टिम दबाबमा देखिएको छ । ‘पिंक बल’ टेस्टमा अस्ट्रेलिया बलियो रहेको र पहिलो टेस्टमा हार बेहोरेकाले इंग्लिस टिम दबाबमा परेको हो । 

ब्रिसबनमा भएके पहिलो टेस्टमा इंग्ल्यान्ड नौ विकेटले पराजित भएको थियो । त्यो खेलमा इंग्ल्यान्डको ब्याटिङ र फिल्डिङ फितलो देखिएको थियो । फेरि टस जितेपछि ब्याटिङ गर्ने जो रुटको निर्णयले पनि इग्लिस टिमलाई फाइदा नपु¥याएको विश्लेषण गरिँदैछ । किनभने गाब्बाको पिच ब्याटिङका लागि उपयुक्त नभएको टिप्पणी गरिएको थियो । अनि जिम्मी एन्ड्रसन र स्टुवार्ट ब्रोडलाई मौका नदिएकोमा पनि रुटले आलोचना खेपिरहेका छन् । 


रुटले दोस्रो टेस्टमा आफ्नो टिमले सुधार गर्नुबाहेक अर्को विकल्प नरहेको प्रतिक्रिया दिएका छन् । ‘हामीले फिल्डिङ र ब्याटिङमा सुधार गर्नै पर्नेछ । अनि हामीले आत्मविश्वासी हुन पनि जरुरी छ । हामीले यो श्रृंखला गुमाइसकेका छैनौँ,’ रुटले भने । 

दोस्रो टेस्टका लागि इंग्ल्यान्डको टिममा सिमर्स ब्रोड र एन्डरसनले पुनरागमन गर्ने अपेक्षा गरिएको छ । यसको संकेत प्रशिक्षक क्रिस सिल्भरउडले गरिसकेका छन् । उनले पहिलो टेस्ट हारेका कारण खेलाडी पीडामा रहेको तर दोस्रो टेस्टमा हारलाई बिर्सेर खेल्न तयार रहेको प्रतिक्रिया पनि दिए । ‘हारका कारण खेलाडीहरू निराश छन् । तर दोस्रो टेस्ट जित्न सकिन्छ भन्ने आत्मविश्वास चाहिँ उनीहरूमा छ । हाम्रो टिम अस्ट्रेलिया लाई टक्कर दिने हैसियत राख्छ,’ सिल्भरउडले भने । 

उसो त बेन स्टोक्सले पनि दोस्रो टेस्टमा निर्णायक भूमिका निर्वाह गर्न सक्छन् भन्ने विश्वास पनि इंग्लिस टिममा छ । करिब आधा वर्ष मैदानबाहिर रहेर टिममा फर्किएका स्टोक्सले पहिलो टेस्टमा उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

उता अस्ट्रेलियन टिम जोस हेजलउडको चोटका कारण चिन्तामा छ । पिंक बल टेस्टमा कीर्तिमान राखेका हेजलउडले दोस्रो टेस्ट गुमाउने बताइएको छ । हेजलउडको चोट गम्भिर नभए पनि फिटनेस नपुग्ने भएकाले दोस्रो टेस्टका लागि उनलाई टिमबाहिर राखिएको अस्ट्रेलियन कप्तान पाट कुमिन्सको भनाइ छ । 

 


Author

थप समाचार
x