क्रिकेट

‘क्यान सुध्रिए खेलाडीसँगको विवाद आफैँ समाधान हुन्छ’

इकागज |
पुस ७, २०७८ बुधबार १८:४९ बजे

काठमाडौँ- गत मंसिर २९ मा नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट चार खेलाडीलाई अनुशासनको कारबाही गर्ने निर्णय गर्‍यो । ती चार खेलाडीमध्ये ज्ञानेन्द्र मल्लको कप्तानीको जिम्मेवारी खोसियो । कारबाहीको सूचीमा परेको दीपेन्द्रसिंह ऐरीलाई उप–कप्तानबाट हटाइयो । अनि यी दुई खेलाडीसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही स्वरुप क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट ६ महिनाका लागि बाहिर राख्‍ने निर्णय गरियो । 

ज्ञानेन्द्रबाट कप्तानी खोसिएपछि सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाइएको छ । कारबाहीमा परेका चार खेलाडीले क्यानले गरेको खेलाडी वर्गीकरणबारे मिडियाबाजी गर्दै अनुशासन उल्लंघन गरेको आरोप लगाइएको छ । कारबाहीको निर्णय गर्नुअघि क्यानले चार खेलाडीलाई स्पष्टीकरण सोध्यो । यो सिलसिला दुई पटक चल्यो । स्पष्टीकरण बुझाउँदा खेलाडीहरूले उल्टै क्यानलाई नै दोषी देखाएको भनिएको छ । जे होस् आरोप प्रत्यारोपको श्रृंखला जारी छ । 


यो विवादमा क्यानविरुद्ध चार खेलाडी र उनीहरूलाई समर्थन गर्ने अरु खेलाडीमात्र छैनन् । क्यानकै बोर्ड सदस्य पनि छन् । ती ६ सदस्यले बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै आफ्ना कुरा राखे । उनीहरूको असन्तुष्टि खेलाडीलाई गरिएको कारबाहीलाई लिएर मात्रै छैन । आउँदो पुस १३ र १४ मा हुने भनिएको क्यान साधारणसभाको विरोध पनि उनीहरूले गरेका छन् । 

‘हाम्रो मुद्दा खेलाडीमाथि गरिएको कारबाही मात्रै होइन । क्यानभित्र रहेको बेथिति पनि हो । क्यान सुध्रनु पर्छ । क्यान सुध्रिए खेलाडीसँगको विवाद त्यसै समाधान हुन्छ,’ क्यानविरुद्ध सार्वजनिक अपिल गर्ने मध्येहरूका एक ऋषिराम गौतमले भने । 

क्यानले गर्न लागेको साधारणसभालाई ‘अवैधानिक’ दाबी गरेर सार्वजनिक अपिल गर्नेमा गौतमबाहेक अमितवीर पाण्डे, करण महतरा, मोहम्मद दाउद अन्सारी, सञ्जय राज सिंह र छुम्बी लामा छन् । धनगढीमा हुन लागेको साधारणसभामा २० जिल्लाबाट सहभागी हुने प्रतिनिधि नै वैधानिक नहुने उनीहरूको दाबी छ । 

‘विधानत २०७८ कार्तिकमा चार वर्षे कार्यकाल समाप्त भएका २० जिल्लाको अधिवेशन हुन सकेको छैन । यसले ती जिल्लाबाट विधानत भाग लिन पाउनुपर्ने प्रतिनिधिको साटो आफ्ना अनुकुलताका प्रतिनिधि छनोट गरी साधारण सभा आयोजना गर्न खोजिएको छ । यसकारण साधारण सभाको वैधानिकतामाथि नै प्रश्न उठेको छ,’ उनीहरूले भनेका छन् । 

क्यान स्वेच्छारिता ढंगले चलेको पनि आरोप पनि लगाएका छन् यी ६ सदस्यले । ‘कार्यसमितिको बैठकमा छलपलको एजेन्डाबारे अग्रिम जानकारी दिइँदैन । निर्णय आफू अनुकुल हुनेगरी गरिन्छ, तीनमा छलफल पनि हुँदैन । बोर्ड सदस्यहरूले कतिपय निर्णय प्रेस विज्ञप्तिमार्फत थाहा पाउनु पर्ने अवस्था छ । आफ्नो धारणअ राख्न सकिने अवस्था छैन,’ ६ सदस्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

उनीहरूले चार खेलाडीमाथि कारबाही गरिँदा समेत आफूहरूको विचार नसुनिएको आरोप लगाएका छन् । ‘नियोजित तरिकाले खेलाडीहरूमाथि कारबाही गरिएको छ । कारबाही गर्नुका कारणबारे तयार पारिएको प्रतिवेदनसमेत हामीलाई अध्धयन गर्न दिइएन । जुममा एमरजेन्सी बैठक डाकियो । त्यही कारबाहीको निर्णय सुनाइयो । खेलाडीहरूले गल्ती गरे होलान्, वर्गीकरणमा पनि समस्या भएको होला । यी सबै विषयमा छलफल गरौँ भनेको तर हाम्रो आवाज सुनिएन,’ छुम्बी लामाले भने । 

अर्का बोर्ड सदस्य गौतमले खेलाडी कारबाही जस्तो गम्भीर विषयमा पर्याप्त छलफल गरी बहुमतका आधारमा नभई सर्वसम्मतका आधारमा निर्णय लिनुपर्ने बताए । ‘क्यान र खेलाडी एक सिक्काका दुई पाटा हुन् । एकविना अर्कोको अस्तित्व छैन । यसकारण खेलाडीका विषयमा पूरै क्यान एक ढिक्का हुनुपर्थ्यो । तर बहुमतको निर्णय भन्दै कारबाहीको निर्णय सुनाइयो,’ गौतमको भनाइ थियो । 

क्यानविरुद्ध उत्रिएका यी सदस्यहरूले क्यानले वार्षिक क्यालेन्डर बनाउन नसकेको, नेपाल प्रिमियर लिग आयोजना गर्न नसकेको, भारतीय कम्पनी सेभेन स्पोर्ट्ससँग सम्झौता भए पनि टि–ट्वान्टी प्रतियोगिता गर्न नसकेको लगायतका विषय पनि उठाएका छन् ।   


Author

थप समाचार
x