क्रिकेट

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा एपीएफ

इकागज |
पुस ७, २०७८ बुधबार २२:५ बजे

कैलाली – विभागीय टिम एपीएफ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधबारको पहिलो खेलमा एपीएफले सुदुरपश्चिमलाई ८९ रनले हराएको हो । लगातार दोस्रो जितसँगै एपीएफ सेमिफाइनल प्रवेश गरेको हो । 

सुदूरपश्चिमलाई सेमिफाइनल पुग्नका लागि अबको अन्तिम प्रदेश नम्बर २ लाई हराउनु पर्नेछ । बुधबारको दोस्रो खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना कायम राखेको छ । समूह 'बी' मा दुई खेलमा जित हात पार्दै एपीएफ शीर्ष स्थानमा रहेको छ ।


समान दुई खेल खेलेका सुदूरपश्चिम र प्रदेश नम्बर २ को एकमा जित र एकमा हारसहित दुई अंक रहेको छ । रनरेटमा सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा रहेको छ भने प्रदेश नम्बर २ तेस्रो स्थानमा रहेको छ । चौथो स्थानमा रहेको गण्डकी प्रदेश दुई खेलमा जित हासिल गर्न नसकेपछि अंक विहीन भएर पुछारमा रहेको छ । 

धनगढीको फाप्ला मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २८ रन बनायो । एपीएफका लागि ओपनर ईन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडिन् । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजियाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई विकेट लिएकी थिइन् ।

एक सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमको पारी एपीएफको बलिङ सामु टिक्न सकेन् । सुदूरपश्चिमले १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रन मात्रै बनाउन सक्यो । सुदुरपश्चिमका लागि कप्तान रितु कनौजिया र रुवि पोदारले समान १० रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । एपीएफका लागि करुणा भण्डारीले ४ विकेट लिइन् । सोनु खड्का, रेखा रावल र सीता राना मगरले समान १ विकेट लिइन् । खेलमा ४ विकेट लिएकी एपीएफकी करुणा भण्डारी प्लेयर अफ द म्याच भइन् । 

प्रदेश नम्बर २ को पहिलो जित, गण्डकी बाहिरियो
समूह ‘बी’ अन्तर्गत बुधबार नै भएको दोस्रो खेलमा भने प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई हराएको छ । पहिलो खेलमा एपीएफसँग हार व्यहोरेको प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राखेको हो । लगातार दुई हारसँगै गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।
टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकी प्रदेश ३९ रनको झिनो योगफलमा समेटियो ।

१७ दशमलव १ ओभरमा सबै विकेट गुमाएको गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १५ रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन नपाउँदा गण्डकीले १३ रन अतिरिक्त पाएको थियो । प्रदेश नम्बर २ का लागि सन्तोषी चौधरीले ३ विकेट लिएकी थिइन् । त्यस्तै अनुराधा चौधरीले २, रोजी कडारी र सरस्वती चौधरीले समान एक विकेट लिएकी थिइन् । 

४० रनको विजय लक्ष्य प्रदेश नम्बर २ ले ३ विकेट क्षतिमा भेटायो । १० दशमलव ३ ओभरमा जित हात पार्नका लागि ओपनरद्धय साना प्रविन र अनुराधा चौधरीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरिन् । सानाले १३ रन बनाउँदा अनुराधाले १२ रन बनाइन् । गण्डकी प्रदेशका लागि शिला क्षेत्रीले एक विकेट लिइन् । खेलमा प्रदेश नम्बर २ की सरस्वती चौधरी प्लेयर अफ द म्याच भइन् । 

प्रतियोगिता अन्तर्गत बिहीवार लिग चरणका अन्तिम दुई खेल हुनेछन् । लिग चरणका दुबै खेल समूह बी का रहेका छन् । पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश २ खेल्नेछन् । अर्को खेलमा गण्डकी प्रदेश र एपीएफ खेल्नेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।


Author

थप समाचार
x