क्रिकेट

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट

सेमिफाइनल पुग्‍ने चौथो टिम बन्यो सुदूरपश्चिम

इकागज |
पुस ८, २०७८ बिहीबार १४:४६ बजे

काठमाडौँ- प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने चार वटै टिमको टुंगो लागेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी प्रतियोगिताको अन्तिम चारमा पुग्‍ने चौथो टिम सुदूरपश्चिम प्रदेश बनेपछि सेमिफाइनल समीकरण पूरा भएको हो । प्रदेश २ लाई ८७ रनले पराजित गरेपछि सुदूरपश्चिमको खातामा चार अंक भएको छ । सुदूरपश्चिमसँगै समूह बी बाट अन्तिम चारमा पुग्ने अर्को टिम एपीएफ हो ।

एपीएफको पोल्टामा पनि चार अंक नै छ । आज (बिहीबार) नै एपीएफले तेस्रो खेल खेलिरहेको छ । गण्डकी प्रदेशसँग भइरहेको यो खेलको नतिजाले समूह विजेताको टुंगो लाग्नेछ ।  


यसअघि नै समूह ए बाट सेमिफाइनल पुग्ने टिमको टुंगो लागिसकेको छ । प्रदेश १ समूह विजेताको हैसियतले अन्तिम चार पुगेको हो । यो समूहबाट लुम्बिनी प्रदेशले समूह उप–विजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । 

बिहीबारको पहिलो खेलमा सुदूरपश्चिमले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४३ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको प्रदेश २ ले भने आठ विकेटको क्षतिमा ५६ रन मात्रै जोड्न सक्यो । 

सुदूरपश्चिमको जितमा विन्दु रावलले अर्धशतक प्रहार गरिन् । उनले ५० रन बनाएकी थिइन् । त्यसअघि ओपनरद्वय रुबी पोदार र कविता जोशीले क्रमशः २१ र १३ रन जोडेका थिए । बलिङतर्फ प्रदेश २ का लागि विमला मगरले दुई विकेट हात पारिन् । त्यसैगरी अनुराधा चौधरी र साना प्रविनको नाममा एक–एक विकेट रह्यो । 

प्रदेश २ का लागि जम्मा दुई ब्याट्सवुमनले मात्रै दोहोरो अंक जोड्न सके । साना प्रविनले अविजित १४ रन बनाएकी थिइन् भने विमलाले १२ रनको यागदान गरिन् । सुदूरपश्चिमलाई सस्तोमा समेट्न कविता जोशीले सात रन खर्चेर दुई विकेट लिइन् । अनि लक्ष्मी साउदको नाममा पनि दुई विकेट नै रह्यो । यसैगरी इश्वरी विष्टले एक विकेट थपिन् । 


 


Author

थप समाचार
x