क्रिकेट

समूह विजेता बन्यो अपराजित एपीएफ

इकागज |
पुस ८, २०७८ बिहीबार १८:२६ बजे

काठमाडौँ- प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा एपीएफले गण्डकी प्रदेशलाई ११७ रनले पराजित गरेको छ । यो जितसँगै एपीएफ समूह 'बी' को विजेता बन्यो । एकै खेल नहारेको एपीएफ यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको थियो । यो समूहबाट सुदूरपश्चिम प्रदेशले पनि अन्तिम चारमा स्थान बनाएको छ । 

धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी प्रतियोगितामा सात प्रदेश र एक विभागीय टिम एपीएफ सहभागी छन् । कुल आठ टिमलाई दुई समूहमा विभाजित गरिएको छ । यस्तोमा समूह 'ए' बाट प्रदेश १ र लुम्बिनी प्रदेशले सेमफिाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । तीन खेलबाट ६ अंक बटुलेको प्रदेश १ समूह विजेता बन्यो भने उप–विजेता लुम्बिनी भयो । लुम्बिनीले तीन खेल खेल्दा दुईमा जित दर्ता गर्‍यो । 


बिहीबार समूह चरणका दुई खेल भए । पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित ग¥यो । दोस्रो खेलमा एपीएफले मजबुत प्रदर्शन गर्‍यो । पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५० रन बनाएको थियो । उसले जवाफी ब्याटिङमा उत्रिएको गण्डकीलाई ३३ रनमा सीमित गर्‍यो । 

गण्डकीले सुरुवाती चार ब्याट्सम्यान शून्य रनमा गुमाएको थियो । पराजित टिमकी कप्तान शिला क्षेत्रीले जम्मा आठ रन बनाइन् । जुन उनको टिमका लागि कुनै पनि खेलाडीले जोडेको सर्वाधिक रन थियो । उनीपछि धेरै रन बनाउने खेलाडी सुजिता थापा बनिन् । उनको नाममा सात रन रह्यो । 

एपीएफका लागि धारिलो बलिङ गरेकी सुष्मा श्रेष्ठले तीन रन खर्चेर दुई विकेट लिइन् । करुण भण्डारीले पनि विजयी टिमका लागि दुई विकेट हात पारिन् । उनले पाँच रन दिएर गण्डकीका दुई ब्याट्सवुमनलाई आउट गरिन् । एपीएफका लागि विकेट लिने अन्य खेलाडीमा सोनु खड्का, सुमन विष्ट र सिता राना मगर रहे । उनीहरु सबैले एक–एक विकेट लिए । 
  
 


Author

थप समाचार
x