क्रिकेट

एसीसी अन्डर–१९ एसिया कप

बंगलादेशसँग सजिलै हार्‍याे नेपाल

इकागज |
पुस ९, २०७८ शुक्रबार १९:४ बजे

काठमाडौँ- एसीसी अन्डर–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली युवा क्रिकेट टिमले बंगलादेशसँग १५४ रनको पराजय भोगेको छ । बंगलादेशले दिएको २९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १४३ रनमै अलआउट भयो । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा भएको खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर २९७ को योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमायो । 

नेपालका लागि गुलशन झाले सर्वाधिक ३५ रन बनाए । तान्जिम हसन शकिबको बलमा रनआउट हुनुअघि २८ बल सामना गरेका गुलशनले चार चौका र एक छक्का प्रहार गरे । उनीपछि धेरै रन जोड्ने खेलाडी बने, विवेक मगर । उनको नाममा ३३ रन रह्यो । मध्यक्रमका विवेक यादवले २६ रनको योगदान गरे । यी तीनबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन बिर्सनलायकको रह्यो । 


ओपनरसमेत रहेका कप्तान देव खनालले २४ बलमा १२ रन बनाए भने अर्का ओपनर अर्जुन कुमाल पाँच रनमा आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्तोष कार्कीको नामम तीन रहँदा बसिर अहमदले आठ रन जोडे । 

बंगलादेशका चार खेलाडीले दुई–दुई विकेट लिए । तान्जिम हसन सकिब, राकिबुल हसन, एसएम मेहेरोब र नइमुर रोहमानले नेपालका दुई–दुई खेलाडीलाई पभेलियन फर्काए । पराजित नेपाली टिमका लागि गुलशन, तिलक भण्डारी र मोहम्मद आदिल अलामले एक–एक विकेट हात पारे । 

उमेर समूहको एसिया कपमा कुल आठ टिम सहभागी छन् । नेपाल रहेको समूह 'बी' मा बगलादेश शीर्षस्थानमा छ । बंगलादेश जस्तै एक जित हासिल गरेको श्रीलंका दोस्रो स्थानमा छ । यो समूहमा नेपालसँगै कुवेत जितविहीन छ । 

समूह ए मा भने भारत र पाकिस्तानले एक–एक जित दर्ता गरेका छन् । यो समूहमा रहेका अरु दुई टिम अफगानिस्तान र आयोजक यूएई हुन् । अफगानिस्तान आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हा¥यो भने प्रतियोगिताको उद्घाटन खेलमा भारतले यूएईलाई पराजित गरेको थियो ।  


 


Author

थप समाचार
x