क्रिकेट

एसिया कपमा नेपालको दोस्रो हार

इकागज |
पुस ११, २०७८ आइतबार १८:५३ बजे

काठमाडौँ- एसीसी अन्डर–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा आइतबार नेपाल श्रीलंकासँग ६० रनले हारेको हो । पहिलो खेलमा नेपाललाई बंगलादेशले १५४ रनले पराजित गरेको थियो । यो नतिजासँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । 

सारजाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै ३२२ रनको विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको नेपाली टिम भने ४७.५ ओभरमा २६२ रन बनाएर अलआउट भयो । 


नेपालका लागि अर्जुन साउदले सर्वाधिक ६४ रन बनाए भने अन्य दुई ब्याट्सम्यान पनि अर्धशतकको नजिक पुगेका थिए । विकेटकिपर तथा ब्याट्सम्यान अर्जुनले ८० बल सामना गर्दा दुई छक्का र तीन चौका प्रहार गरे । मध्यक्रमका विवेक यादव र बसिर एहमदको नाममा क्रमशः ४६ र ४३ रन रह्यो । विवेकले तीन–तीन छक्का र चौका प्रहार गरे । बसिरको नाममा दुई छक्का र तीन चौका रह्यो । 

बलियो श्रीलंकाविरुद्ध नेपालले सन्तोषजनक सुरुवात गरेको थियो । यसका लागि ओपनरद्वय सन्तोष कार्की र कप्तान देव खनालले पहिलो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । सन्तोषले ३४ रन बनाए भने देवले २८ रनको योगदान गरे । यी दुईपछि अर्जुनले नेपाली इनिङ सम्हाल्ने प्रयास गरेका थिए । 

त्यसअघि श्रीलंकाका दुई ब्याट्सम्यानले शतक बनाए । ओपनर चामिन्दु विक्रमसिंघेले १११ रन बनाउँदा सदिशा राजपाक्षेले १३१ रनको योगदान गरे । १२६ बल सामना गरेका चामिन्दुले दुई छक्का र आठ चौका प्रहार गरे । अर्का शतकधारी सदिशाले दुई छक्का र ११ चौका प्रहार गरे । बलिङतर्फ नेपालका मोहम्मद आदिल आलमले दुई विकेट लिए । विकेट लिने अन्य दुई नेपाली खेलाडी देव खनाल र विवेक यादव थिए ।  

उमेर समूहको एसिया कपमा नेपाल समूह बी मा छ । जितविहीन नेपाली टिम पुच्छारमा छ । दुई–दुई जित हासिल गरेका बंगलादेश र श्रीलंका शीर्ष दुईमा छन् । 
 


Author

थप समाचार
x