क्रिकेट

राष्ट्रिय क्रिकेट टिमको कप्तान सन्दीप नै रहन्छन्: मुख्य प्रशिक्षक पुबुदु

इकागज |
पुस १५, २०७८ बिहीबार १६:१८ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबदु दासनायकेले सिनियर टिमकाे कप्तान सन्दीप लामिछाने नै रहिरहने प्रष्ट पारेका छन् । कप्तान परिवर्तन गर्ने निर्णय नेपाल क्रिकेट संघ (क्यान)को भएकाले उसले गरेको निर्णयलाई आफूले मान्‍नु पर्ने पुबुदुको भनाइ थियो ।  

‘क्यानको बोर्डले गरेको निर्णय हो यो । क्यानसँग कप्तान परिवर्तन गर्ने अधिकार हुन्छ । यसमा मैले चुनौती दिने कुरा आउँदैन । त्यसकारण कप्तान सन्दीप नै रहन्छन्,’ बिहीबार आयोजित पत्रकार समेलनमा पुबुदुले भने । 


डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त रहेको मुख्य प्रशिक्षक पदमा पुबदु केही समयअघि नियुक्त भएका हुन् । क्यानले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै पुबुदुलाई पत्रकारहरुसँग साक्षात्कार गरायो । यस क्रममा उनले कप्तानीबारे उठेको प्रश्नको जवाफ दिए । 

क्यानले केही समयअघि साविकका कप्तान ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीपलाई कप्तानीको जिम्मेवारी दिएको थियो । ज्ञानेन्द्रलाई अनुशासनको कारबाही गरिएको थियो । क्यानले प्रदान गर्ने सेन्ट्रल कन्ट्रयाकका विषयमा मिडियाबाजी गरेको आरोपमा ज्ञानेन्द्रसँगै दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई पनि कारबाही गरिएको हो । 

नवनियुक्त मुख्य प्रशिक्षक पुबुदुले टि–ट्वान्टी विश्वकपको ग्लोबल छनौटका लागि तत्कालै ३० खेलाडीलाई अभ्यासमा डाकिने पनि जानकारी दिए । आगामी फेब्रुअरीमा नेपालले ग्लोबल छनौटमा भाग लिँदैछ । ओमानमा हुने छनौटमा आयोजकसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिफिन्स र यूएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 
 


Author

थप समाचार
x