क्रिकेट

सन् २०२१ को अन्तिम टेस्टमा भारतको जित

इकागज |
पुस १५, २०७८ बिहीबार १८:१४ बजे

काठमाडौँ- जसप्रित बुमराह र मोहम्मद शामीले तीन–तीन विकेट लिएपछि भारतले पहिलो टेस्टमा बिहीबार घरेलु टिम दक्षिण अफ्रिकालाई ११३ रनको जित हासिल गरेको छ । पहिलो टेस्टको पाँचौँ दिन भारतीय टिमले दक्षिण अफ्रिकालाई १९१ रनमा अलआउट गर्न सफल भयो । 

आफ्नो इनिङ फेरि निरन्तरता दिँदा दक्षिण अफ्रिका ९४/४ को स्थितिमा थियो । ३०५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले सन्ताषजनक प्रदर्शन गर्न सकेन । बिहानी सत्रमा डिन एल्गर (७७) र टेम्बा बाभुमा (३५) ले दक्षिण अफ्रिकाको इनिङ सम्हाल्ने कोशिस गरेका थिए । तर भारतीय बलिङसामू दक्षिण अफ्रिकी टिमको केही सीप चलेन । 


अब दोस्रो टेस्ट जनवरी ३ बाट सुरु हुनेछ । जोहानेसबर्गमा हुने यो टेस्टपछि दुवै टिम केपटाउृन पुग्नेछन् । जहाँ जनवरी ११ बाट तेस्रो टेस्ट सुरु हुनेछ । सन् २०२१ को अन्तिम टेस्टमा जित हासिल गरेको भारतले अहिलेसम्म दक्षिण अफ्रिकी भूमिमा टेस्ट श्रृंखला जित्न सकेको छैन । 

‘खेलमा हाम्रो सुरुवात बलियो रह्यो । यसैकारण चार दिन खेलेर नतिजा निकाल्न सक्यौँ । यो समय अवधिले पनि के देखाउँछ भने, हामीले असाध्यै राम्रो खेल देखायौँ,’ भारतीय कप्तान विराट कोहलीले जितपछि भने । 

उनले शामीको पनि तारिफ गरे । ‘शामी विश्व स्तरीय खेलाडी हुन् । विश्वका तीन सर्वोेत्कृष्ट सिमरको सूची बनाउने हो भने शामीको नाम पनि त्यहाँ हुन्छ,’ आठ विकेट लिएका शामीबारे कोहलीको भनाइ थियो । 

हुन त दक्षिण अफ्रिकाको सुरुवात पनि कमजोर थिएन । सुरुकोे १० ओभरको समाप्तीमा घरेलु टिम ३–५० को स्थितिमा थियो । तर एल्गरलाई बुमराहले पभेलियन फर्काएपछि भने दक्षिण अफ्रिकामाथि दबाब सिर्जना भयो । त्यसपछि क्विनटन डे ककले भारतीय बलरहरूको सामना बलियो ढंगले सामना गर्ने प्रयास गरे । उनले २८ बलमा २१ रन त बनाए । तर मोहम्मद सिराजले उनलाई पिचमा धेरैबेर टिक्न दिएनन् । 

दक्षिण अफ्रिकाले आफ्नो अन्तिम तीन विकेट दुई ओभरमै गुमायो । जसमा रवीचन्द्र आश्विनले दुई विकेट हात पारे । उनको बलमा कागिसो राबडा र लुंगी एनगिडी शून्यमा आउट भए । ‘हामीले केही गल्ती अवश्य ग¥यौँ । तर हारका बाबजुद खुशी हुनुपर्ने धेरै कारण छन् हामीसँग । अब हामीले दबाब महशुस गरेर खेल्न जरुरी छ । यसरी खेल्दा हामी सधैँ सफल हुन्छौँ,’ एल्गारले भने । 
 


Author

थप समाचार
x