क्रिकेट

क्रिकेट विवाद

बन्द प्रशिक्षणमा सहभागी हुन खेलाडीलाई आइतबार साँझसम्मकाे समय सीमा

इकागज |
पुस १८, २०७८ आइतबार १७:१ बजे

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) र पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीहरूबीचको विवाद जारी छ । क्यानले पछिल्लो समय डाकेको बन्द प्रशिक्षणमा पनि उनीहरू पुगेका छैनन् । सबै खेलाडीलाई शनिबार साँझसम्म मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सम्पर्कमा पुग्न समय दिइएको थियो । तर ज्ञानेन्द्र मात्रै होइन दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी पनि दासनायकेको सम्पर्कमा पुगिसकेका छैनन् । 

यी चार खेलाडीसहित कुल १२ खेलाडी बन्द प्रशिक्षणमा नपुगेको बताइएको छ । टि–ट्वान्टी विश्वकप ग्लोबल छनौटका लागि क्यानले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । बन्द प्रशिक्षणमा नपुगेका सबै खेलाडीको विवरण सार्वजनिक गरिएको छैन । मुख्य प्रशिक्षक दासनायकेलाई रिपोर्ट गर्ने समय आइतबारसाँझ सम्मका लागि तन्काइएको छ । 


यसैबीच आइतबार ज्ञानेन्द्र र क्यान अध्यक्ष चतुर बहादुर चन्दबीच छलफल भएको छ । स्रोतका अनुसार ज्ञानेन्द्रले कप्तान सम्बन्धी निर्णय परिवर्तन गर्न क्यान अध्यक्ष चन्दलाई आग्रह गरेका थिए । जवाफमा चन्दले वर्गीकरणको विषयलाई सम्बोधन गर्न सकिने भए पनि कप्तानमा भने सन्दीप लामिछाने नै रहने प्रष्ट पारेका छन् । 

सोही भेटमा ज्ञानेन्द्रले क्यानले आफूलाई जबरजस्ती राष्ट्रिय टिमबाट हटाउनका लागि प्रपञ्च गरेको हो कि भन्ने प्रश्न पनि राखेको बताइएको छ । उनले आफूलाई बन्द प्रशिक्षणमा बोलाउने तर त्यहीबाट राष्ट्रिय टिमको ढोका बन्द गरिने हो कि भनेर चिन्ता जाहेर गरेको पनि स्रोतका भनाइ छ ।  


Author

थप समाचार
x