क्रिकेट विवाद समाधान हुने संकेत
काठमाडौँ- टि–ट्वान्टी विश्वकपको ग्लोबल छनौटको तयारीका लागि नेपाल क्रिकेट टिमले सोमबारबाट अभ्यास सुरु गर्दैछ । यसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ३० खेलाडीलाई डाकेको थियो । तर बन्द प्रशिक्षणमा डाकिएका सबै खेलाडी मुख्य प्रशिक्षक पुबुदु दासानायकेको सम्पर्कमा पुगेका छैनन् ।
क्यानसँगको विवादका कारण ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी बन्द प्रशिक्षण शिविरमा पुगेनन् ।केही समयअघि क्यानको कारबाहीमा परेका यी खेलाडीहरू बन्द शिविरमा नजाने यसअघि नै अनुमान गरिएको थियो । तर यी चार खेलाडीसँगै अन्य १० खेलाडी पनि अनुपस्थित रहे । ती १० खेलाडी बन्द शिविरमा नपुग्नुको कारण कप्तानबाट हटाइएका ज्ञानेन्द्र र उनीसँगै कारबाहीमा परेका चार खेलाडीको ‘सोलिडारिटी’का लागि हो भन्ने दाबी छ ।
जे सुकै कारण भए पनि झन्डै आधा खेलाडी बन्द प्रशिक्षणका लागि राखिएको शिविरमा नपुगेको पछि क्यान दबाबमा पर्यो । नतिजा स्वरुप क्यानले आइतबार ज्ञानेन्द्रसँग छलफल गर्यो । पूर्वकप्तान ज्ञानेन्द्रसँगको छलफलमा मुख्य प्रशिक्षक पुबुदु मध्यस्थकर्ताका रुपमा उपस्थित भए । अनि क्यान अध्यक्ष चतुर बहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल र कोषाध्यक्ष रोशन बहादुर सिंह पनि छलफलमा सामेल भए ।
क्यान र ज्ञानेन्द्रबीचको बैठकबाट निष्कर्ष आइसेकको छैन । तर सहमतिको आशा भने जागेकाे छ । यसको कारण क्यानले ज्ञानेन्द्रमाथिको कारबाही फिर्ता लिने वाचा हो । क्यानले ज्ञानेन्द्र र अन्य तीन खेलाडीलाई केन्द्रीय सम्झौताबाट ६ महिनाका लागि हटाएको छ । हो यही कारबाही फिर्ता लिने वाचा क्यानले गरेको हो । छलफलका क्रममा ज्ञानेन्द्रले यही विवादका कारण राष्ट्रिय टिमको करियर नै समाप्त हुने हो कि भनेर चासो पनि राखेको बताइएको छ ।
कप्तानीका विषयमा भने क्यान पछि नहट्ने भएको छ । कप्तान परिवर्तन नियमित प्रक्रिया भएकाले सन्दीप लामिछानेको नियुक्तिलाई सहज ढंगले बुझिदिन क्यानले ज्ञानेन्द्रलाई आग्रह गरेको बुझिएको छ । ‘ज्ञानेन्द्रलाई कप्तानीबाट हटाउनुको कारण उहाँ असक्षम भएर होइन । उहाँ अझै पनि कप्तान बन्न लायकको हुनुहुन्छ । तर यसपालिको ग्लोबल छनौट नेपालले सन्दीप लामिछानेको कप्तानीमा खेल्ने निर्णय भइसकेको छ । यसमा परिवर्तन हुँदैन,’ क्यान अध्यक्ष चन्दले भने,‘ बरु केन्द्रीय सम्झौताबाट ज्ञानेन्द्र र अन्य तीन खेलाडीलाई हटाउने निर्णय भने खारेज गर्ने हाम्रो प्रतिबद्धता छ । बैठकमा ज्ञानेन्द्र सकारात्मक देखिनु भयो । प्रशिक्षणमा सामेल हुने विषयमा सकारात्मक निर्णय दिने भन्नुभएको छ । उहाँले सोमबार बिहानसम्मका लागि समय माग्नु भएको छ,’ क्यान अध्यक्ष चन्दले भनेका छन् ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया