क्रिकेट

न्युजिल्यान्डविरुद्धको जितमा नायक बनेका बंगलादेशी सैनिक

इकागज |
पुस २१, २०७८ बुधबार १४:३८ बजे

काठमाडौँ- बंगलादेशले बुधबार न्युजिल्यान्डलाई पहिलो टेस्टमा आठ विकेटले पराजित गर्‍यो । यो जित बंगलादेशी टिमका लागि दुईवटा कारणले विशेष रह्यो । पहिलो, बंगलादेशले यसअघि टेस्टमा न्युजिल्यान्डलाई हराउन सकेको थिएन । दोस्रो, बंगलादेशसँग हारेपछि न्युजिल्यान्डको अपराजित यात्रा (घरेलु मैदानमा) समाप्त भएको छ । घरेलु मैदानमा न्युजिल्यान्ड १७ खेलयता अपराजित थियो । 

बंगलादेशको जितमा इबादत होसेन र तास्किन एहमदको बलिङ निर्णायक सावित भयो । यी दुईले धारिलो बलिङ गर्दा न्युजिल्यान्ड दोस्रो इनिङ्ग्समा १६९ रनमा सीमित भयो । इबादतले ४६ रन खर्चेर ६ विकेट हात पारे । इबादतका लागि यो उनको टेस्ट करियरकै उत्कृष्ट बलिङ थियो । उनको यो प्रदर्शन सन् २०१३ यता कुनै पनि बंगलादेशी फास्ट बलरले विदेशी भूमिमा गरेको उत्कुष्ट बलिङ प्रदर्शन हो । 


२७ वर्षीय इबादतले दुई वर्षदेखिको मेहेनतले प्रतिफल दिन सुरु गरेको प्रतिक्रिया दिए । ‘पछिल्लो दुई वर्षयता म ओटिस गिब्सनसँग अभ्यास गरिरहेको छु । विशेषगरी अवे पिचमा कसरी बलियो ढंगले बलिङ गर्ने भनेर मेहेनत गरिरहेको छु । मैले अझै पनि धैर्यपूर्वक सिक्न जरुरी छ,’ बंगलादेशी वायु सेनाका इबादतले भने । 

डेभोन कोनवेको विकेट लिएपछि खुशीयाली मनाउने क्रममा सलुट गरेका इबादत कुनैसमय भलिबल खेलाडी थिए । भलिबलबाट क्रिकेटमा सरेका इबादतलाई कुन खेल खेल्दा बढी रमाइलो लाग्छ भनेर पनि सोधिएको थियो ।

‘म बंगलादेशी वायु सेनाको सैनिक हो । भलिबलबाट क्रिकेटमा कसरी आइपुगे भन्ने कथा लामो छ । अहिलेलाई यत्ति भनौँ, म क्रिकेटमा रमाइरहेको छु । बंगलादेश र बंगलादेशी वायु सेनालाई प्रतिनिधित्व गरेर क्रिकेट खेल गर्व महशुस पनि गरिरहेको छु,’ इबादतले बंगलादेशी सञ्चार माध्यमहरूसँग भनेका छन् । 

  


 


Author

थप समाचार
x