क्रिकेट

टी-ट्वान्टी विश्वकप छनाैट:

नेपाली बलरलाई चौका र छक्का हान्‍ने वसिम को हुन् ?

जसको नाममा १२ बलमै अर्धशतक बनाएको रेकर्ड छ

इकागज |
फागुन १०, २०७८ मंगलबार १८:५ बजे

काठमाडौँ : नेपालले दोस्रोपटक टी–ट्वान्टी विश्वकप क्रिकेट खेल्ने सपनासहित युएईविरुद्ध सेमिफाइनल खेलिरहेको छ । ओमानमा युएईले टस जितेर ब्याटिङ रोज्यो । उसले ब्याटिङ रोज्नुको पछाडि यो पीच ब्याटरका लागि सहयोगी छ । जहाँ धेरै रन बन्छ । अनि चौका र छक्काको वर्षा पनि । 

यही मैदानमा नेपालले फिलिपिन्सविरुद्ध २१८ रन बनाएको थियो । मं‍गलबार नेपालले दोस्रोपटक विश्वकप खेल्ने लक्ष्यसहित युएईविरुद्ध बलिङ सुरु गरेको थियो । चिरपरिचित युएईविरुद्ध नेपाली प्रशिक्षक पुबुदु दासानायकेको विशेष योजनाका साथ नेपाली टोली बलिङ आक्रमणमा उत्रिएको थियो ।


तर युएईकाका ओपनर ब्याटर मुहम्मद वसिमले नेपाली बलरलाई हदैसम्म निराश बनाए । उनले नेपाली बलरलाई चार चौका र चार छक्का हाने । ४८ बल खेलेका वसिमले ७० रन जोडे । उनले सर्वाधिक रन जोड्दा युएईले नेपाललाई जितका लागि १७६ रनको लक्ष्य दिएकाे छ ।

नेपाली बलरले अरुलाई सजिलै रोक्न सफल भएपनि वसिमलाई भने राम्रोसँग चिन्नै सकेनन् । नेपाली बलरले उनको कमजोरी पत्ता लगाउँदासम्म वसिमले चार चौका र चार छक्का हानिसकेका थिए । अर्धशतक पूरा गरेर झन् ठूलो योगफल बनाउन लागिरहेका वसिमलाई नेपालका तीव्र गतिका बलर अविनाश बोहराले आरिफ शेखको हातबाट क्याचआउट गराए । नेपालले युएईका चिराग सुरी र रोहन मुस्ताफालाई बढी ‘नोटिस’ गरेको थियो ।

सोही योजनाअनुसार जितेन्द्र मुखियाले सुरीलाई आउट गर्न सके । मुस्ताफा भने अन्तिमतिर मात्रै क्रिजमा आए । नेपालको अनुमानविपरित वमिसले भने नेपाली बलरलाई चौका र छक्का हान्दै ७० रनको योगदान दिए । नेपाली बलरले समूह चरणका सबै खेलमा विपक्षी टिमलाई १०० रन कटाउन दिएका थिएनन् । तर युएईविरुद्ध नेपाली बलरले विकेट लिएपनि सुरुमा भने फितलो प्रदर्शन गरे ।

को हुन् मुहम्मद वसिम ? 

वसिम युएईका विष्फोटक ब्याटर हुन् । उनी ओपनिङमा आउँछन् र आक्रामक खेल्छन् । जुन उनले नेपालविरुद्धको खेलमा पनि प्रमाणित गरेका छन् । २८ वर्षीय वसिम दाया हाते ब्याटर हुन् । उनले युएईका अलवा पाकिस्तान लिगमा मुल्तान सुल्तान र टी–टेन लिगमा नर्देन वारियर्सबाट खेलेका छन् ।

उनको नाममा रोचक रेकर्ड पनि छ । जसले उनी कति विष्फोटक ब्याटिङ गर्छन् भन्ने देखाउँछ । अबुधाबीको टी–टेन लिगमा वारियर्सका लागि गएको वर्ष वसिमले १२ बलमा अर्धशतक प्रहार गरेका थिए । त्यो उनको अहिलेसम्मकै राम्रो ब्याटिङ रेकर्ड हो । जहाँ उनले १३ बलमा ५६ रन बनाएका थिए ।

गएको वर्ष मात्रै युएईका लागि टी–ट्वान्टीमा नामिबियाविरुद्धको खेलमा अन्तर्राष्ट्रिय डेब्यु गरेका वासिमले १० खेलबाट ३२४ रन जोडेका छन् । जसमा एक शतक र दुई अर्धशतक सामेल छन् । एकदिवसीयमा भने उनले यसै महिना मात्रै ओमानविरुद्ध डेब्यु गरेका हुन् ।

मंगलबार नेपालविरुद्धको खेलमा सर्वाधिक ७० रन जोडेका वसिमले नेपाली बलरको कडा चुनौति पन्छाउँदै ब्याटिङ गरेका थिए । यदि नेपाललाई पन्छाउँदै युएई टी–ट्वान्टी विश्वकपमा छनौट हुन सकेको खण्डमा वसिमको नाम नेपाली फ्यानको दिमागबाट पनि सित्तिमित्ति हट्ने छैन । जसले नेपालको विश्वकप खेल्ने सपनालाई केही धमिलो बनाइदिएका छन् । 

 


Author

थप समाचार
x