क्रिकेट

'आधुनिक क्रिकेटमा कौशलले मात्र पुग्दैन मेन्टल टफनेस पनि चाहिन्छ'

क्रिकेटका कुरा

इकागज |
कात्तिक १, २०७७ शनिबार ९:० बजे

बसन्त रेग्मी नेपाली क्रिकेटमा ओजिलो नाम हो । नेपाल पहिलो पटक विश्‍वकपमा छनौट हुँदा होस वा एक दिवसिय मान्यता पाउँदा होस, बसन्तको योगदान सदैब महत्वपुर्ण रह्‍यो । उनका नाममा सम्झनयोग्य रेर्कडहरु छन् । नेपाल सम्मिलत वर्ल्ड क्रिकेट लिगमा सय विकेट लिने उनी पहिलो खेलाडी बने । नेपालको अन्तराष्ट्रिय क्रिकेट यात्रामा उनले जति विकेट कसैले लिएका छैनन् । उनको खेल प्रर्दशनबारेमा सायदै कोही नेपाली क्रिकेट प्रेमी बेखबर होला । 
बसन्तको क्रिकेटप्रतिको लगाब स्वाभाविक रुपमा ८-९ वर्षको उमेरबाटै सुरु भयो । स्थानीय शिवशक्ति क्लब र तिरुपती क्लबबाट उनको खेल जीवन सुरु भयो । राजविराजमा सन् १९९९ मा सम्पन्न जय ट्रफी उनको पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता थियो । जहाँ उनले छिमेकी जिल्ला कपिलवस्तुको प्रतिनिधित्व गरे । त्यतिबेला बसन्त शाही, सञ्जिव जोशी, राजु खड्कालगायतका खेलाडीहरु रुपन्देहीबाट खेल्ने मौका पाउने थिएनन् । त्यसकारण उनीहरुले कपिलवस्तुका खेलाडीहरुसँग मिलेर टीम बनाई राष्ट्रियस्तरका प्रतियोगिता खेल्ने गरेका थिए । सोही टीमको हिस्सा बने बसन्त ।

बसन्त सुरुवाती दिनहरुमा अलराउण्डर थिए । ब्याटिङ र बलिङ दुवैमा ओपनर । तर कालान्तरमा उनको परिचय फेरियो । उनी खेल्दै जादाँ उनी ब्याटिङमा मध्यक्रममा झरे । उनी पहिले फास्ट बलिङ गर्थे । तर करियरको सुरुवाती चरणमै काँधको चोट बोकेपछि उनको शैली फेरियो । त्यसो त नेपाली टोलीमा अरु पनि फास्ट बलर रहेकाले उनलाई स्पिनर बन्दा बलिङमा मौका पाउने सम्भावना थियो । ‘बगंलादेशमा हामी अभ्यास खेल खेल्दै थियौं । त्यो खेल दौरान मलाई शक्ति गौचनले स्पिन बल फ्याँकी हेर् न भन्नुभयो । पछि मैले सिनियर टीममा इटालीसँगको खेलबाट डेब्यु गरे । त्यस खेलमा पनि मैले स्पिनरकै रुपमा खेल्दै दुई विकेट लिएँ । त्यसपछि मैले कहिले पनि पछाडी फर्केर हेर्नुपरेन,’ बसन्तले सम्झिए ।


‘नेताहरुको करियर, कमाई लामो समय सम्म जान्छ । सरकारी कर्मचारीको पेन्सन हुन्छ । अन्य क्षेत्रमा काम गर्नेहरु धेरै जसोको सामाजिक सुरक्षा हुन्छ । अनि खेलाडी जो देशका लागि १५-२० वर्षसम्म खेल्छौं, उनीहरुका लागि केही छैन् । हाम्रो लागि सोच्ने दायित्व राज्यको  हो होइन ?’ उनले प्रश्न गरे ।

बसन्तलाई नेपालको उमेर समूहका टोलीमा प्रवेश गर्न त्यति कठिन भएन । जिल्ला र क्षेत्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गर्दै उनी नेपालको अण्डर १७ टोलीमा परे । देशका लागि उनको पहिलो प्रतियोगिता सन् २००० मा पाकिस्तानमा सम्पन्न आईसीसी अण्डर १७ एसिया कप थियो । अण्डर १९ विश्‍वकपलगायतका उमेर समूहका महत्वपुर्ण प्रतियोगिताहरुमा उनी नेपाली टोलीको सदस्य निरन्तर बनिरहे । तर सिनियर टोलीमा भने उनले मौका सजिलै पाएनन् । सन् २००० को दशकको अघिल्लो चार वर्ष उनी क्याम्पमा बोलाइने तर अन्तिम टोलीमा नपर्ने भइरह्यो । ‘म नेशनल टीमको अभ्यास क्याम्पमा पहिलो पटक परेको २००१ मा परे । त्यतिबेला नेशनल टीममा पर्न त्यति सजिलो थिएन । त्यसकारण क्याम्पमा आउने, फर्किने सिलसिला चलिरह्यो,’ उनले भने । सन् २००५ मा मलेसियामा डिभिजन दुई हुने भयो । त्यसका लागि नेपालको घोषित टोलीमा बसन्त वैकल्पिकमा परे । तर शरद भेष्वाकर विरामी परेपछि बसन्तको भाग्य खुल्यो । त्यसरी उनको राष्ट्रिय टोलीको यात्रा सुरु भयो र अहिलेसम्म जारी छ । यता घरेलु क्रिकेटमा बसन्त उतिकै प्रभावशाली रहँदै आएका छन् । सशस्त्र प्रहरीको बलले सन् २०१० मा क्रिकेट क्लब गठन गरेदेखि बसन्त त्यस टीमको महत्वपुर्ण सदस्य रहँदै आएका छन् । एपिएफबाट उनले प्रधानमन्त्री कप जित्नुका साथै राष्ट्रिय खेलकुदमा पुरुष क्रिकेटतर्फको स्वर्ण लगातार जित्दै आएका छन् । त्यस्तै उनले बिराटनगर वारियर्सबाट एभरेष्ट प्रिमियर लिगसमेत जितेका छन् ।

खेलाडीका लागि सामाजिक सुरक्षा खोई ?
बसन्तले दुई दशक बढी नेपाली क्रिकेटमा बिताइसकेका छन् । अरु विधाका खेलाडीको जस्तै उनको पनि सरकार र अन्य सरोकार निकायप्रति गुनासो छ । खेलाडीले सन्यास लिएपश्चात उसको बाँकी जीवन कसरी अर्थिक रुपमा सहज बनाउने भन्ने बिषय राज्यले सोच्नुपर्ने उनको भनाई छ । ‘नेताहरुको करियर, कमाई लामो समय सम्म जान्छ । सरकारी कर्मचारीको पेन्सन हुन्छ । अन्य क्षेत्रमा काम गर्नेहरु धेरै जसोको सामाजिक सुरक्षा हुन्छ । अनि खेलाडी जो देशका लागि १५-२० वर्षसम्म खेल्छौं, उनीहरुका लागि केही छैन् । हाम्रो लागि सोच्ने दायित्व राज्यको  हो होइन ?’ उनले प्रश्न गरे । ‘न हाम्रो लागि रिटायरमेन्ट प्लान छ । न त सरकारले खेलाडी भएबापत सरकारले कुनै कुरामा छुट नै दिन्छ । खेलुन्जेल अलिअलि पैसा आउँछ । खेल जीवनपछि हामी कसरी टिक्ने त ?’ उनले दुखेसो पोखे । 'खेलाडी राष्ट्रिय टोलीमा परे केही हदसम्म सहज हुने, नत्र खेलेरै आर्थिक रुपमा स्थिर हुन ग्राहो हुन्छ' उनले भने ‘सामाजिक असुरक्षाका बाबजुत पनि क्रिकेटमा आउन चाहने युवाहरुको कमी छैन् । हामी पनि धेरै समस्याका बाबजुत पनि खेलीरह्यौं । तर खेल जीवनको उर्ताद्धमा आइपुग्दा अब के भन्ने चिन्ताले सताउछ,’ उनले थपे ।

क्रिकेटको विकास कसरी ? 
नेपालमा क्रिकेट बुझेका जो सुकैले पनि यस खेलको थप विकासका लागि ग्रासरुटमा काम गर्नुपर्नेमा जोड दिन्छन् । बसन्तको धारणा पनि फरक छैन् । विद्यालयस्तरमै क्रिकेटको प्रतियोगिताहरु गर्नुपर्ने, जिल्ला र क्षेत्रिय स्तरमै एकेडेमी सञ्चालन गर्नुपर्नेमा उनको भनाइ छ । घरेलु क्रिकेटमा होम एण्ड अवे फर्म्याटमा प्रतियोगिता गर्ने, टीमहरु बिच २-३ दिनहरुको टुर आयोजना गर्नेलगायतका कार्यहरु गरे खेलाडीको थप वृतिविकास हुने उनको धारण छ । अहिले देशभित्र भइरहेका विभिन्न प्रतियोगिताहरुले पनि नेपाली क्रिकेटको विकासमा टेवा पुगिरहेको उनको भनाई छ । ‘क्यान निलम्बन भएको बेलामा धनगढी प्रिमियर लिग, एभेरेष्ट प्रिमियर लिगलगायतका प्रतियोगिताहरुले नेपाली क्रिकेट विकासमा राम्रो योगदान पुर्‍याएका छन्,’ बसन्त भन्छन्, ‘नेपालमा कयौं प्रतियोगिताहरु भइरहेका छन् । खेलाडी भएपछि सानो ठूलो सबै प्रतियोगितामा खेल्नुपर्छ । देशभित्र जहाँ जस्तासेुकै प्रतियोगिताहरु आयोजना भए पनि तिनको नेपाली क्रिकेट विकासमा पक्कै पनि भूमिका छ ।'

उनको सक्रिय खेल जीवनमा अब उनी धेरै वर्षसम्म रहने छैनन् । खेलाडीका रुपमा उनको अबको लक्ष्य के हो त ? उनी दाबी गर्छन्  'विश्‍वकप ।

बसन्त नेपालको क्रिकेटलाई एक कदममाथि लग्ने बेला आइसकेको बताउँछन् । र, त्यसका लागि पर्याप्त प्रतिभाहरु उत्पादन भइरहेको पनि मान्छन् । तर उनको भनाईमा नेपाली युवा क्रिकेटरहरुमा ‘मेन्टल टफनेस’ को कमी छ । ‘हाम्रोमा प्रतिभाको कमी भएको होइन । धेरै राम्रा राम्रा खेलाडीहरु आइरहेका छन् । तर हामीले उनीहरुलाई मानसिक रुपमा बलियो बनाउनुपर्ने आवश्यकता छ । र खेलाडी आफैले पनि त्यसमा काम गर्नुपर्छ । अहिलेको आधुनिक क्रिकेटमा कौशलले मात्र पुग्दैन । मेन्टल टफनेस भएन भने जतिसुकै उच्चस्तरको प्रतिभा भएपनि उ अघि बढ्न सक्दैन,’ बसन्त भन्छन् । सन्दीप जस्ता प्रतिभा नेपालमा अरु पनि नभएका होइनन् तर उनीहरुसँग सन्दीपको जस्तो खेलमा मेन्टल टफनेसको कमी रहेको उनको भनाई छ । ‘सन्दीप जत्तिको वा पारस जत्तिको वा म जत्तिकै क्रिकेट खेल्न सक्ने धेरै प्रतिभा नेपालमा छन् । तर माथिल्लो स्तरसम्म पुग्न आवश्यक बलियो मानसिकताको विकास भने उनीहरुले गर्नुपर्छ,’ उनले थपे ।

विदेशमा जुन स्तरको लिग वा क्लबमा खेल्न पाए पनि त्यो नेपाली खेलाडीहरुका लागि महत्वपुर्ण एक्सपोजर साबित हुने बसन्तको भनाई छ । ‘मैले क्यानाडामा कुनै बलियो क्लबमा खेल्न पाएको होइन । तर त्यहाँ हुँदा मैले टीमको जिम्मेवारी बहन कसरी गर्ने भनेर सिकें । त्यो मेरो लागि महत्वपुर्ण सिकाई थियो । सन्दीप पनि विदेशी लिग खेल्न थालेपछि आत्मविश्वास बढेको छ । विदेशबाट जुनसुकै लिग अथवा क्लबबाट खेल्न प्रस्ताव आए पनि जानुपर्छ । त्यसले नेपाली खेलाडीलाई धेरै फाइदा गर्छ,’ बसन्त भन्छन् । राष्ट्रिय टोलीको प्रर्दशनलाई एक कदम माथि पुर्‍याउन अब नयाँ योजना र आडियाको आवश्यक परिसकेको बसन्तको भनाइ छ । ‘अब हाम्रो क्रिकेटमा नयाँ योजना र आइडिया ल्याउने बेला भइसक्यो । सधैं एउटै तरिकाले क्रिकेट चलाएर हामी अगाडी पुग्न सक्दैनौं । खेल्ने शैलीदेखि संरचनासम्ममा परिवर्तन गर्नुपर्छ । नत्र हामी यो स्तरमै वर्षौसम्म रहिरहनेछौं,’ उनले भने ।

अन्त्यमा, 
बसन्त करियरको उताद्धमा छन् । सक्रिय खेल जीवनमा अब उनी धेरै वर्षसम्म रहने छैनन् । खेलाडीका रुपमा उनको अबको लक्ष्य के हो त ? उनी दाबी गर्छन्  'विश्‍वकप ।' अनि भविष्यको योजना ? त्यो चाही उनले खुलाउन चाहेनन् । ‘केही न केही त गर्ने सोच छ नै । तर के गर्छु भन्ने चाही अहिले नै नखुलाउँ । समय आएपछि त्यसबारेमा बताउने नै छु,’ उनले भने ।


Author

थप समाचार
x