क्रिकेट

'गहनाको त मोल हुन्छ, हामी त मोलबिनाको गहना भयौं'

प्रविणबिक्रम कट्‍वाल |
कात्तिक १, २०७७ शनिबार ९:५० बजे

खेल जीवनपछि के गर्ने भन्ने चिन्ता सबै खेलाडीमा हुन्छ, सायद विश्वभर नै । नेपाल जस्तो मुलुकमा त झन हुनै नै भयो । न खेलुन्जेल पुग्दो कमाई छ । न त खेल जीवन सकिएपछि सरकारबाट कुनै आर्थिक सहयोग, न त खेलाडीले बलियो विकल्प अपनाउने अवस्था नै । पहिले कसरी खेलमा आफ्नो नाम बनाउने भन्ने चिन्ता । पछि बाँकि जीवन कसरी चलाउने भन्ने चिन्ता । तर पनि खेलाडी खेल क्षेत्रमा आउन भने छाड्दैनन्, किन त ? ‘सपना त पुरा गर्नै पर्‍यो नि ,’ भन्छिन् रुबिना क्षेत्री ।

उनी नेपाली महिला क्रिकेट टोलीकी कप्तान । जसले अन्तराष्ट्रिय क्रिकेटमा दुई पटक ह्याट्रिक विकेट लिएर नेपाली महिला क्रिकेटमा बेग्लै इतिहास रचेकी छन् । ‘एउटा खेलाडीले देशका लागि खेल्ने सपना त बोकेकै हुन्छ । खेल जीवनमा के पाइन्छ भन्दा पनि के दिन सकिन्छ भन्नेमै भइन्छ । तर करियर सकिने बेलामा अथवा सकिएपछि हामी आर्थिक रुपमा रित्तै हुन्छौं । सामाजिक सुरक्षाबिना बाँकि जीवन कसरी कटाउने ?’ उनी प्रश्न गर्छिन् ।


खेल मैदानमा रुबिनाको नेतृत्वदायी प्रदर्शनले नेपालीको मन जितेकै छ । मैदान बाहिर पनि उनी उतिकै प्रभावशाली छन् । विशेषगरी महिला क्रिकेट खेलाडीले भोगिरहेको समस्याबारेमा उनी बोलिरहन्छिन् । महिला क्रिकेटको मात्र होइन उनले व्यक्त गरेको समस्या समस्त नेपाली खेलाडीहरु कै हो । ‘मलाई अहिले पनि आमाले किन खेलिरहेको भनेर सोध्नुहुन्छ । किनभने उहाँलाई खेल जीवनपछि मैले आर्थिक समस्या भोग्नुपर्छ भन्नेमा चिन्ता छ । राष्ट्रिय टोलीकै कप्तानको यो हालत छ भने मेरा अरु खेलाडी साथीहरुको हालत के होला ?’ उनले भनिन् ।

रुबिनाले २००९ देखि नेपालको सिनियर टोलीमा खेल्न सुरु गरेकी हुन् । त्यसको तीन वर्षपछि उनी कप्तान बनिन् । र अहिलेसम्म अन्तराष्ट्रिय क्रिकेटमा नेपालको निरन्तर नेतृत्व गर्दै आएकी छन् । ‘यत्रो वर्ष क्रिकेट नै खेलियो । अर्को करियर बनाउनेतर्फ ध्यान गएन । खेल तालिकाले औपचारिक अध्ययनमा सधै बाधा गरिरह्‍यो । अब सन्यास लिने बेलामा आर्थिकरुपमा कसरी टिक्ने भन्ने तनाव छ । मेरो मात्र होइन सबै महिला क्रिकेट खेलाडीको हालत यही हो,’ रुबिनाले गुनासो पोखिन् ।

शरिरको अवस्था नबुझ्ने हो र जथाभावी खेल्ने हो भने चोट गहिरिने अनि लामो समयसम्म यसले दु:ख दिन्छ । म नै यसको भुत्तभोगी हुँ । मलाई धेरै वर्ष घुँडा र काँधको चोटले दु:ख दियो,’ उनले भनिन् ।

माथि भने जस्तै रुबिनाको क्रिकेटमा आगमन उनको सपनाबाट नै प्रेरित थियो । झापाको काकडँभिट्टामा जन्मेकी रुबिनाका लागि हुर्कंदै गर्दा क्रिकेट नौलो खेल थिएन । घर नजिकैको चौरमा उनका दाइहरु क्रिकेट खेल्थे । उनी दाइहरुले खेलेको हेर्थिन । ‘कति हेर्छस आइज खेल्न भनेर दाइहरुले पछि-पछि खेल्न बोलाउन थाल्नुभयो । त्यसरी नै मैले आफुलाई मनपर्ने खेल खेल्न थाले,’ उनले बाल्यकाल सम्झिइन । त्यसो त उनी करिब ९ वर्ष हुँदादेखि नै भारतिय क्रिकेट पछ्याउथिइन् । ‘त्यतिबेला पढाईबाहेक टिभीमा भारतको खेल हेर्नुनै मेरो दिनचर्या थियो । त्यसरी नै मेरो यो खेलसँगको माया बढ्दै गयो,’ उनले भनिन् ।

घर नजिकैको चउरमा खेल्दा स्थानीयहरु उनको खेलबाट प्रभावित नहुने कुरै भएन । उनीहरु रुबिनाको आमालाई छोरीलाई एकेडेमीमा भर्ना गरिदिनुस भन्न थाले । त्यसपछि रुबिनालाई उनकी आमाले काँकडभिट्टाकै मिलन क्रिकेट एकेडेमीमा भर्ना गरिदिइन । खेल सिकाई र प्रतियोगितामा भाग लिने सिलसिला अघि बढ्दै गयो । जिल्ला, क्षेत्र हुँदै उनको यात्रा राष्ट्रिय टोलीसम्म पुग्यो । नेपाली महिला क्रिकेटमा रुबिनाले नाम चम्काइन । घरेलु क्रिकेटमा स्थापित भइन् । विदेशी लिग खेल्न भ्याइन् । अब उनी करियरको उर्ताद्धमा छिन् । तर उनी थाकेकी भने छैनिन् ।

‘म अझै २-३ वर्षसम्म खेल्न सक्छु । र, त्यही अनुसार आफुलाई फिट राख्ने कोसिस गरेकी छु । यो लकडाउनको अवधिमा मैले शारीरिक रुपमा आफुलाई बलियो बनाएको छु,’ उनले भनिन् । कुराकानीका क्रममा उनले एउटा महत्वपूर्ण विषयमा बोलिन । त्यो थियो खेलाडीमा फिजियोथेरापी सम्बन्धि ज्ञान । अहिले उनमा आफ्नो शरिरले के भन्दैछ भनेर सुन्ने ज्ञान पलाएको मान्छिन् । ‘पहिला जोशैजोशमा खेलिन्थ्यो । शारीरिक अवस्थाको ख्याल हुँदैन थियो । घुडाँमा चोट लाग्दा पनि खेलिन्थ्यो । अहिले चाँहि शरिरले के भन्दैछ भन्नेमा बिशेष ध्यान दिनुपर्छ भन्ने बुझ्न थालियो । खेल र खेलाडीमा फिजियो र फिजियोथेरापीको महत्व कति हुन्छ भन्ने बुझियो,’ उनले थपिन् ।

हामीलाई देशको गहना भनिन्छ तर त्यो अनुरुपको व्यवहार छैन् । गहनाको त मोल हुन्छ । हामी त मोल बिनाको गहना बनेका छौं । न त राज्यले खेलमा लगानी गर्छ न त हाम्रो भविष्यप्रति चिन्ता नै छ ।

त्यसो त नेपाली खेलकुदमा फिजियोथेरापीको महत्वमाथि पर्याप्त बहस भएको छैन् । अधिकांश खेल विधाका खेलाडीहरुमा अझै पनि यसको ज्ञान कम नै छ । न त खेल सघंले यसमा पर्यात ध्यान पुर्‍याउन नै सकेका छैनन् । नेपाली महिला क्रिकेट यसबाट किन अछुतो रहन सक्थे र ! ‘केही वर्षयता अवस्था अलि फरक छ । खेलाडीमा पनि ज्ञान बढेको छ । विशेषज्ञ फिजियो राख्न थालिएको छ । खेलाडीको शारीरिक अवस्था राम्रोसँग बुझेर मात्र खेल्ने नखेल्ने भन्ने निर्क्यौल हुन्छ । शरिरको अवस्था नबुझ्ने हो र जथाभावी खेल्ने हो भने चोट गहिरिने अनि लामो समयसम्म यसले दु:ख दिन्छ । म नै यसको भुत्तभोगी हुँ । मलाई धेरै वर्ष घुँडा र काँधको चोटले दु:ख दियो,’ उनले भनिन् ।

यस अर्थमा रुबिनाको नेपाली महिला क्रिकेटमा सम्झनलायकको योगदान छ । खेलाडीबाट विदा लिएपछि योगदानको सिलसिला जारी रहला त ? उनको भविष्यको योजना के हो त ? यी प्रश्नहरुको उनले जवाफ दिइन, ‘हुन त मैले अहिलेसम्म प्रशिक्षक बन्न आवश्यक कोर्स गरिसकेको छैन् । तर मेरो योजना भनेको एकेडेमी खोल्ने नै हो । यस्तो एकेडेमी जहाँ सबैले सिक्न अनि खेल्न पाउन । सबै खेल सामाग्री एकेडेमीले नै उपलब्ध गराउनेछ । खेल सामाग्री किन्न पैसा नहुने अवस्थाले गर्दा भोली देशका लागि खेल्न सक्ने प्रतिभा नगुमोस भन्नेमा हामी सचेत हुनुपर्छ ।’

महिला क्रिकेटलाई व्यवस्थित गर्न धेरै कुराहरु गर्नु आवश्यक रहेको उनी औल्याउँछिन् । ‘एक त हाम्रोमा महिला क्रिकेटमा पनि लगानी गर्नुपर्छ भन्ने मानसिकताको नै अभाव छ । हाम्रो लागि पर्याप्त घरेलु प्रतियोगिता नै छैनन् । वर्षको एक दुई वटा घरेलु प्रतियोगिता खेलेर कसरी भनेजस्तो नतिजा दिने ?’ उनले प्रश्‍न गरिन । विद्यालय तहबाटै महिला क्रिकेटको जग बसाउनुपर्ने उनको भनाई छ । विद्यालय, जिल्ला, प्रदेशबाटै महिला क्रिकेटको जग बलियो हुँदै आए मात्र नेपाली महिला क्रिकेटको स्तरमा परिवर्तन आउने उनको जिकिर छ ।

‘जिल्ला-जिल्लामा राम्रा प्रशिक्षक खटाउने, अभ्यास गर्न मैदानको व्यवस्था गर्ने आदि गरे मात्र हाम्रो अवस्था बलियो हुन्छ । तर बिडम्बना ८/९ जना अन्तराष्ट्रिय खेलाडी रहेको हाम्रो क्षेत्रमा नै अभ्यास गर्ने ठाउँ छैन् । अब कसलाई दु:ख पोख्ने ?’ उनले आक्रोश पोखिन् । खेलाडी देशको गहना हो भन्ने तर त्यो अनुरुपको व्यवहार नहुने बताइन । ‘हामीलाई देशको गहना भनिन्छ तर त्यो अनुरुपको व्यवहार छैन् । गहनाको त मोल हुन्छ । हामी त मोल बिनाको गहना बनेका छौं । न त राज्यले खेलमा लगानी गर्छ न त हाम्रो भविष्यप्रति चिन्ता नै छ । तर पनि हामी देशका लागि सक्दो खेल्छौं नै । हाम्रो एउटै चिन्ता भनेको भविष्यमा आउने खेलाडीहरुको पनि यही अवस्था नहोस,’ उनले भनिन् ।

 


Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
x