क्रिकेट

विश्व महिला क्रिकेटमा कस्तो छ कोभिड प्रभाव ?

इकागज |
असोज २६, २०७७ सोमबार १३:० बजे

नयाँदिल्ली : गत मार्चमा अष्ट्रेलिया र भारतबीचको महिला टि-ट्वान्टी क्रिकेट विश्वकप फाइनल खेल हेर्न मेलबर्न क्रिकेट ग्राउन्डमा ८६ हजार भन्दा धेरै दर्शक उपस्थित भए । महिला क्रिकेटमा त्यत्तिको दर्शक सङ्ख्या आफैमा ऐतिहासिक भएकाले दर्शक सङ्ख्या देखेर विश्व महिला क्रिकेटले कोल्टे फेर्न थालेको सम्म बहस चल्यो ।

तर कोभिड-१९ महामारीले विश्व नै थलिएपछि उकालो लाग्न खोज्दै गरेको महिला क्रिकेट प्रभावित बन्न पुग्यो । सधै पुरुष क्रिकेटको छायाँमा रहेने विश्व महिला क्रिकेट कोरानो कहरपछि कुन अवस्थामा पुग्ने हो कसैलाई थाहा छैन् । कोभिडले विश्व अर्थतन्त्रलाई नै धरायसी पारिरहेको अवस्थामा कतिपय क्रिकेट सघंहरु खर्च कटौती गर्नुपर्ने अवस्थामा छन् । र त्यसको सिकार महिला क्रिकेटमा पर्ने हो कि भन्ने अवस्था छ । 'धेरै जसो देशहरुमा पुरुष र महिला क्रिकेटरले समान पारिश्रामिक पाउँदैनन् । हामी त्यस्ता देशहरुमा रहेका महिला क्रिकेट खेलाडीहरुको अवस्थाबारेमा थप चिन्तित छौं,’ अन्तराष्ट्रिय क्रिकेट खेलाडी सघंका कार्यकारी निर्देशक टम मोफट भन्छन्, ‘महिला क्रिकेटको दिगो विकासका लागि हामी आइसीसी र सबै क्रिकेट सघंहरुलाई आव्हान गरिरहेका छौं ।' निश्चय पनि पुरुष क्रिकेटको अर्थतन्त्र महिलाको भन्दा बढी नै प्रभावित हुनेछ ।


इङल्यान्डको केन्द्रीय क्रिकेट सघंसँग अनुबन्धित रहेका खेलाडीहरुले कोभिड सुरु भएपछिको तीन महिनाको तलब लिएनन् । सघंले महिला क्रिकेट विकासमा लगाउने भनेको २४ मिलियन पाउन्ड बराबरको योजना पनि तत्कालका लागि रोकियो । क्रिकेट संघमा अनुबन्धित नरहेका कयौं खेलाडीहरुको आय त त्यसै पनि बन्द नै हुने नै भयो । अष्ट्रेलियामा पछिल्लो समयमा महिला क्रिकेटको क्षेत्रमा लगानी बढेको छ । तर कोरोनाले पार्ने प्रभावसँग लड्न त्यहाँको क्रिकेट सघंले महिला क्रिकेटका घरेलु प्रतियोगिताको संख्यामा कटौती गर्नसक्ने सम्भावनाप्रति खेलाडी चिन्तित देखिन्छन् । ‘त्यसै पनि हामी महिला खेलाडीहरुका लागि कम प्रतियोगिता छन् । त्यसैले कोरानोको प्रभावले प्रतियोगिताहरु कटौती भए हामी थप अप्ठ्यारोमा पर्नेछौं,’ अष्ट्रेलिया राष्ट्रिय टिमकी विकेटकिपर अलिसा हेलीले भनिन् ।

धनी मानिने भारतीय क्रिकेट बोर्डले बजेट कटौती गर्ने निर्णय लिइसकेको छैन् । कोरोनाका कारण लगाइएको लकडाउनले भारतीय क्रिकेट अर्थतन्त्रमा कुन स्तरको असर गरेको छ भनेर भन्न सक्ने अवस्था नभइ केही निर्णय नलिने बताइएको छ । बोर्डका कोषाध्यक्ष अरुण सिंह धुमालका अनुसार पुरुष तथा महिला दुवै विधाका खेलाडीहरुलाई आर्थिक रुपमा असर पुग्ने सम्भावना कम रहेको दाबी गर्छन् । ‘हामीलाई कारोनाले आर्थिक रुपमा कुन स्तरको असर गर्छ अझै पत्तो छैन् । जब त्यसबारेमा हामीलाई पर्याप्त जानकारी हुन्छ त्यसपछि मात्रै हामीले कस्तो योजना बनाउने भनेर थाहा हुन्छ । तर खेलाडीको तलब घटाउने हाम्रो कुनै मनसाय छैन । न त महिला क्रिकेटको बजेट घटाउने नै मनसाय हो । खेलाडीको तलब काट्ने कुरा हाम्रो लागि अन्तिम उपाय मात्र हुनेछ,’ धुमालले भने ।

यता पाकिस्तान क्रिकेट बोर्डका कार्यकारी निर्देशक वासिम खान महिला क्रिकेटको बजार बढिरहेको बेला बजेट कटौती गर्नेभन्दा बढाउनेतिर सोचिरहेको बताए ।  ‘पाकिस्तानमा महिला क्रिकेटलाई वर्षौंसम्म नजर अन्दाज गरियो । हामी उनीहरुको खेल विकासमा थप लगानी गर्न चाहन्छौं । साथै भविष्यमा महिला खेलाडीहरुको म्याच फि पनि बढाउने छौं,' वासिमले भने । (रोयटर्स)


Author

थप समाचार
x