क्रिकेट

नेपालले दियो पीएनजीलाई २७९ रनको लक्ष्य

इकागज |
चैत १२, २०७८ शनिबार १२:५८ बजे

काठमाडौँ - दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)लाई नेपालले २७९ रनको लक्ष्य दिएको छ । आज कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७८ बनाएको थियो । अन्तिम ओभरमा नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले १६ रन जोडेपछि नेपालले पपुवा न्युगिनीमाथि चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो । 

दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् । दीपेन्द्रले १३६ बलमा ६ चौकासहित सय रन पूरा गरेका हुन् । उनी १४० बलमा १०५ रन बनाउँदै आउट भए । 


दीपेन्द्र एक दिवसीयमा शतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन् ।  शुक्रबार मात्र रोहित पौडेलले शतक हान्दै पारस खड्काको रेकर्ड तोडेका थिए ।

पुरै ५० ओभर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेल र अनिल शाहलाई सस्तैमा गुमाए पनि दीपेन्द्र र देव खनालले १ सय २९ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको हो । ओपनिङको समस्या खेप्दै आएको नेपालले कुशललाई शून्य र अनिल शाहलाई २ रनमा गुमाएको थियो ।  

नेपालको ब्याटिङको हाइलाइट दीपेन्द्र रहे । सुस्त सुरुवात गरेका उनले १ सय ४० बल खेल्दै शतक प्रहार गरे । एक दिवसीयमा दीपेन्द्रको यो पहिलो शतक हो । उनले खेलमा ७ चौका प्रहार गरेका थिए । 

शुक्रबार शतकसँगै नेपालको तर्फबाट थुप्रै कीर्तिमान पनि बनाएका रोहित पौडेलले ३५ रनको योगदान गरे । एक ओभरमा लगादार २ विकेट गुमाएको नेपालले रोहित र भिम सार्कीलाई एकै ओभरमा गुमाएको थियो । विपक्षी बलरले स्टम्प उडाउनुअघि भिम सार्कीले २६ रन बनाए । पपुवा न्युगिनीका अलेइ नाओले ३ विकेट लिए भने नोरमान भानुअले २ले दुई विकेट लिए । चाड सोपर र चाल्र्स अमिनीको भागमा एक एक विकेट पर्यो । 


Author

थप समाचार
x